काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत सिनियर प्रहरी अधिकृतहरूको सरुवा र काजलाई लिएर सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आएका समाचारप्रति नेपाल प्रहरीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक (डीआईजी) अबि नारायण काफ्लेले बिहीबार एक विज्ञप्ति जारी गर्दै उक्त सरुवा प्रचलित कानूनी व्यवस्था र स्थापित प्रशासनिक प्रक्रिया बमोजिम गरिएको स्पष्ट पारेका छन् ।
केही सञ्चार माध्यममा राहदानी ठेक्का प्रकरणको अनुसन्धान वा अन्य विशेष घटनासँग जोडेर भ्रमपूर्ण विश्लेषणहरू सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले यसबारे आधिकारिक धारणा सार्वजनिक गरेको हो ।
विज्ञप्तिमा उल्लेख भए अनुसार मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको गत असार १८ र १९ गतेको पत्रानुसार गरिएको उक्त सरुवा नियमित कर्मचारी व्यवस्थापनको सिलसिला मात्रै हो । यसलाई कुनै विशेष घटना, अनुसन्धान वा उजुरीसँग जोड्नु तथ्यहीन रहेको प्रहरीको भनाइ छ ।
तथ्य र आधिकारिक जानकारी विना अनुमानका भरमा समाचार सम्प्रेषण गर्दा आम नागरिकमा भ्रम सिर्जना हुने र सार्वजनिक संस्थाप्रतिको विश्वासमा नकारात्मक असर पर्ने भन्दै प्रहरीले यस्ता अपुष्ट सूचनाको पछि नलाग्न सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई आग्रह गरेको छ ।
नेपाल प्रहरी सदैव पारदर्शिता, निष्पक्षता र कानूनी व्यवस्थाको पालना गर्दै आफ्नो जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको समेत विज्ञप्तिमा उल्लेख छ ।

