काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरूबीच बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्चस्तरीय छलफल सम्पन्न भएको छ ।
बैठकमा निर्माण क्षेत्रका विद्यमान समस्या, व्यवसायको प्रवर्द्धन तथा भौतिक पूर्वाधार विकासका विविध आयामबारे विस्तृत संवाद भएको हो ।
छलफलका क्रममा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको बलियो आधार भएको बताएको प्रधानमन्त्री शाखको सचिवालयको फेसबुक पेज मार्फत जानकारी गराईएको छ ।
पीएमओ नेपाल नामको फेसबुक पेजमा लेखिएको छ, ‘यस क्षेत्रमा देखा परेका व्यावहारिक अड्चनहरू सुल्झाउन सरकार सकारात्मक रहेको स्पष्ट पार्दै उहाँ (प्रधानमन्त्री बालेन्द्र शाह) ले विकास निर्माणका कार्यलाई गति दिन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।’

निर्माण व्यवसायलाई थप मर्यादित, पारदर्शी र परिणाममुखी बनाउँदै तोकिएको समयमै आयोजनाहरू सम्पन्न गर्न राज्य र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो ।
महासंघका प्रतिनिधिहरूले निर्माण उद्योगले लामो समयदेखि भोग्दै आएका भुक्तानीको समस्या, म्याद थप, ठेक्का व्यवस्थापन र मूल्य समायोजनका चुनौतीहरूबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए ।
साथै उनीहरूले आयोजनाहरूको समयमै कार्यान्वयन र बैंकिङ तथा लगानीका क्षेत्रमा रहेका नीतिगत जटिलताहरू तत्काल समाधान गरी निर्माण क्षेत्रलाई चलायमान बनाउन सरकारसँग माग गरे ।
विकास निर्माणलाई गति दिन र खस्कँदो आर्थिक गतिविधिलाई उकास्न दुवै पक्षबीचको समन्वयलाई थप तीव्र बनाइनुपर्नेमा व्यवसायीहरूले जोड दिएका छन् ।

