वीरगन्ज । अमेरिकी सुरक्षा निकाय सङ्घीय अनुसन्धान ब्युरो ले फरार अभियुक्त फहाद मोहम्मद नुरलाई आफ्नो ‘मस्ट वान्टेड फ्रडस्टर्स’ (सबैभन्दा खोजी गरिएका ठगहरू) को सूचीमा आधिकारिक रूपमा समावेश गरेको छ।
उनलाई पक्राउ गर्न वा दोषी ठहर गर्न सहयोग गर्ने गरी कुनै पनि जानकारी दिने व्यक्तिलाई १,५०,००० हजार डलर (करीब २ करोड नेपाली रुपैयाँ) सम्मको पुरस्कार दिने घोषणा गरिएको छ।
सङ्घीय अनुसन्धानकर्ताहरूका अनुसार कोभिड–१९ महामारीको चरम अवस्थामा मिनेसोटामा सञ्चालित ‘सङ्घीय बाल पोषण कार्यक्रम’ को दुरुपयोग गरी लाखौँ डलर ठगी गरेको योजनामा नुरको संलग्नता रहेको आरोप छ।
नुर विरुद्ध सन् २०२२ सेप्टेम्बरमा बैंकिङ ठगी (वायर फ्रड), सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) को षड्यन्त्र र सम्पत्ति शुद्धीकरणकै अभियोगमा मुद्दा दर्ता गरिएको थियो।
एफबीआईको प्रतिवेदन अनुसार नुरले ‘द प्रोड्युस’ नामक खाद्यान्न आपूर्ति र बिक्री गर्ने नक्कली कम्पनी सञ्चालन गरेका थिए। सरकारी वकिलहरूका अनुसार नुरले यस कम्पनीमार्फत खाद्यान्न आवश्यक भएका बालबालिकाहरूलाई खाना नै उपलब्ध नगराई नक्कली बीजक (इनभोइस) हरू पेस गरेका थिए।
यसरी उनले ५० लाख डलरभन्दा बढी सङ्घीय रकम अवैध रूपमा कुम्ल्याएको आरोप छ। अधिकारीहरूका अनुसार महामारी राहत कोषसँग जोडिएको २५ करोड डलरको ‘फिडिङ आवर फ्युचर’ ठगी काण्डको पहिलो लहर सार्वजनिक हुनु ठीक अगाडि, सन् २०२२ जनवरीमा नुर अमेरिकाबाट फरार भएका थिए।
त्यसपछि सन् २०२२ सेप्टेम्बर १३ मा मिनेसोटा जिल्लाको अमेरिकी अदालतले उनी विरुद्ध सङ्घीय पक्राउ पुर्जी जारी गरेको थियो। सुरक्षा अधिकारीहरूले नुर प्राकृतिक रूपमा अंगीकृत अमेरिकी नागरिक भएको र उनको सोमालियासँग गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै उनी हाल सोमालियामै लुकेर बसेको हुन सक्ने अनुमान गरेका छन्।
उनको ठेगाना वा अवस्थितिबारे कुनै पनि प्रमाणित जानकारी हुने व्यक्तिलाई नजिकैको एफबीआई कार्यालयमा सम्पर्क गर्न वा अनलाइनमार्फत सूचना दिन आग्रह गरिएको छ।

