वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर ८ कार्यालयमा स्थापना गरिएको गहवा बाल उद्यान तथा शिशु स्याहार केन्द्र वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ ।
अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) ले नेपाल उद्योग वाणिज्य महासंघ मार्फत महासंघको मधेस प्रदेश मा सञ्चालन गरेको ‘सशक्त महिला, समृद्ध नेपाल’ इडब्लुपीएन कार्यक्रम अन्तर्गतको शिशु स्याहार केन्द्र वडा कार्यालयलाई हस्तान्तरण गरेको हो ।
वीरगन्ज महानगरपालिकाका महिला, बालबालिका तथा सामाजिक विकास अधिकृत प्रतिज्ञा वैद्य र वीरगन्ज महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रितेश कुमार गुप्तासँग ‘सशक्त महिला, समृद्ध नेपाल’ (ईडब्लुपीएन) कार्यक्रम वीरगन्ज उद्योग वाणिज्य संघमा स्थापना गरिएको महिला उद्यमी सहजकर्ता अन्जु राना मगर तथा परियोजना सञ्चालन गर्ने सरोकारवाला पक्षबीच वडा कार्यालयमा नै शिशु स्याहार केन्द्र स्थापना गर्ने सहमति भएको थियो ।
सोही अनुसार शुक्रबार उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगार समितिका सभापति प्रबलजंग पाण्डेले वडा अध्यक्ष रितेश गुप्तालाई एक कार्यक्रमका बीच स्याहार केन्द्रमा आवश्यक सामग्रीहरु सहित हस्तान्तरण गरेको ‘सशक्त महिला, समृद्ध नेपाल’ (ईडब्लुपीएन) कार्यक्रम वीरगन्ज उद्योग वाणिज्य संघमा स्थापना गरिएको ‘महिला उद्यमशिलता सहयाता कक्ष’की महिला उद्यमी सहजकर्ता अन्जु राना मगरले जानकारी दिईन् ।
अन्तराष्ट्रिय श्रम संगठनले विश्व श्रम बजारमा महिलाहरुको उपस्थिति र सहभागिता बढाई उनीहरुलाई आर्थिक रुपमा नै सशक्त बनाउन कार्यस्थलमा घरायसी वातावरणको निर्माण गर्नका लागि शिशु स्याहार केन्द्रको अवधारणा ल्याईएको र सोही अनुसार निजीक्षेत्रसँगको सहकार्यमा यस्ता महिला र बालबालिकामैत्री कार्यस्थलहरुको स्थापना गर्दै आएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रबलजंग पाण्डेले बताए ।
नेपालमा उद्योग व्यावसायमा अझैपनि महिलाहरुको सहभागिता कम हुनुमा उनीहरुलाई कार्यस्थलमा हुने विभिन्न सामाजिक र मानसिक तनाव नै प्रमुख कारण भएकोले मानसिक र सामाजिक तनावमुक्त भई काम गर्ने वातावरण निर्माणको लागि कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको उनको भनाई थियो ।
त्यस्तै वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले निजीक्षेत्र सधैं सरकारसँग हातेमालो गरेर हिड्न खोजेपनि राज्यले त्यसलाई स्वीकार नगरेको अवस्थामा स्थानीय सरकारसँग पहिलोपटक कार्यक्रममा साझेदारी र सहकार्यमा महिला र बालबालिकामैत्री कार्यक्रम गर्न पाएकोमा खुशी व्यक्त गरे ।
यसको लागि वडा नम्बर ८ का वडा अध्यक्ष रितेश गुप्तालाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्ता सकारात्मक पहल र काममा वीरगन्ज उद्योग वाणिज्य संघको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
जनता समाजवादी पार्टीका पर्सा अध्यक्ष रामनरेश यादवले नेपाल सरकारले शिक्षा मन्त्रालयले पर्सा जिल्लाको विभिन्न वस्तीहरुमा समुदायमा आधारित बाल विकास केन्द्र पहिलो पटक सञ्चालन भएको स्मरण गर्दै बालबालिकाहरुका लागि स्याहार केन्द्र अत्यन्त आवश्यक रहेको बताए ।
उनले जन्मेदेखि पाँचबर्षसम्ममा शारिरिक रुपमा पूर्ण विकास नभएपनि मानसिक रुपमा बालबालिकाहरुको ९० प्रतिशत विकास भईसक्ने मनोविदहरुको भनाई रहेको जनाउदै वडा नम्बर ८ का युवा अध्यक्ष रितेश गुप्ताले त्यो पहल गरेकोमा धन्यवाद दिए ।
आईएलओ मधेस प्रदेशका संयोजक महेन्द्र सहनीले नेतृत्वमा, श्रमबजार, उद्यम व्यावसाय र रोजगारमा महिलाहरुलाई कसरी सहभागिता गराउन सकिन्छ भन्ने पाटोमा केन्द्रीत भएर निजीक्षेत्रसँग काम गरिरहेको जानकारी गराउदै श्रम बजारमा महिलाहरुको सहभागिता न्यून देखिएको र ४० प्रतिशत महिलाहरुले महिलाहरु पारिवारिक र सामाजिक जिम्मेवारीले गर्दा सहभागिता जनाउन नसकेको देखिएपछि स्थानीय सरकार र निजीक्षेत्रसँग सहकार्य गरेर यस्तो कार्यक्रमहरु सञ्चालन गरेको बताए ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिडको समयमा सबैभन्दा बढी हेरचाहमा खटिनुपर्ने महिलाहरु नै देखिएको तर, बिना ज्याला र तलबमा हेरचाह गर्नुपर्ने तर त्यसको उपलब्धि चाहिँ नदेख्ने भएकोले यसलाई केयर सर्भिसको रुपमा विकास गर्न सकिन्छ कि भनेर तीनवटा प्रदेशमा केयर इकोनोमीको बारेमा सर्वेक्षण गरेर त्यसलाई नमूना परियोजनाको रुपमा कार्यक्रम सञ्चालन गरिएको बताए ।
वीरगन्ज महानगर पालिका वडा नम्बर ८ मा नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका उपाध्यक्ष राजकुमार साहको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव राजपाल, उपाध्यक्ष आशिष लाठ, सहसचिव अनुप अग्रवाल, वडा नम्बर ८ का वठा सदस्यहरु तथा स्थानीय समाजसेवीहरुको पनि उपस्थिति रहेको कार्यक्रमका मधेस प्रदेश संयोजक डा.वासुदेवलाल कर्णले जानकारी दिए ।

