वीरगन्ज । मिहिनेत र अनुशासनले कसरी सफलताको शिखरमा पुर्याउँछ भन्ने एउटा जीवन्त उदाहरण प्रस्तुत गर्दै वीरगन्जको गौतम माविले आफ्ना उत्कृष्ट विद्यार्थीहरूलाई सम्मानित गरेको छ।
विद्यालयको सभाहलमा बुधबार आयोजित एक भव्य र गरिमामय समारोहमा शैक्षिक सत्रमा नर्सरीदेखि कक्षा नौसम्म प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल जेहेन्दार विद्यार्थीहरूलाई सम्मानित गरिएको हो।
यो सम्मान कार्यक्रम केवल एउटा औपचारिक समारोह मात्र थिएन, बरु विद्यार्थीहरूको भित्री क्षमतालाई प्रस्फुटन गराउने र उनीहरूको मनोबललाई थप उचाइमा पुर्याउने एउटा उत्सव थियो।
विद्यालयकी निर्देशक परीक्षा पिया लामाले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूको हौसला अझ बुलन्द गर्न र अन्य विद्यार्थीहरूमा पनि आगामी दिनमा अझ राम्रो गर्ने सकारात्मक प्रतिस्पर्धाको भावना जगाउन यो कार्यक्रमको आयोजना गरिएको बताइन्।
सम्मान समारोहको सबैभन्दा प्रेरणादायी र ऊर्जावान् पक्ष भनेकै प्रमुख अतिथिको रूपमा उपस्थित डा. सरफरोज अन्सारीको उपस्थिति थियो। डा. अन्सारी सोही गौतम माविबाट २०५८ सालको एसएलसी परीक्षा उत्तीर्ण गरेका पूर्व विद्यार्थी हुन्, जो हाल नारायणी अस्पतालमा देशकै प्रतिष्ठित स्नायु रोग विशेषज्ञ (न्यूरो सर्जन) का रूपमा कार्यरत छन्।
आफ्नै विद्यालयको मञ्चमा उभिएर वर्तमान पुस्ताका बालबालिकाहरूलाई सम्बोधन गर्दा हलमा एक किसिमको फरक ऊर्जा सञ्चार भएको थियो।
डा. अन्सारीले आफ्ना पुराना दिनहरू स्मरण गर्दै भने, ‘मैले विद्यालयमा पढ्दै गर्दा भविष्यमा स्नायु रोग जस्तो संवेदनशील विधाको विशेषज्ञ बन्छु भनेर सोचेको थिइनँ। तर, यो विद्यालयले मलाई जुन अनुशासन र मिहिनेत गर्ने बानी सिकायो, त्यही बलियो जगका कारण आज म यो स्थानमा आइपुगेको हुँ।’
उनले विद्यालय शिक्षा नै बालबालिकाको भविष्यको वास्तविक आधारस्तम्भ भएको र गौतम माविले तयार पारेको त्यही जगका कारण आज सयौँ विद्यार्थीहरू संसारका विभिन्न क्षेत्रमा अब्बल सावित भइरहेको भन्दै विद्यालयप्रति कृतज्ञता प्रकट गरे।
आफ्नो स्थापनाको ५०औँ वर्ष अर्थात् स्वर्ण जयन्तीको सुखद यात्रामा रहेको गौतम माविले हासिल गरेको यो साख र पहिचान कुनै संयोग मात्र होइन।
विद्यालयका निर्देशक सोनाम लामाले यस आधा शताब्दीको यात्रामा विद्यालयले प्राप्त गरेको हरेक उपलब्धिमा विद्यार्थीको लगनशीलता, अभिभावकको अटुट विश्वास र शिक्षक एवं कर्मचारीहरूको अहोरात्र खटाई जोडिएको कुरा गौरवका साथ व्यक्त गरे।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा प्रबन्ध निर्देशक परीक्षा पिया लामा, प्रधानाध्यापक गणेश क्षेत्री, सहायक प्रधानाध्यापक ललित कर्ण र प्रशासन प्रमुख रमेश कुमार शर्मा लगायतको उपस्थिति थियो।
उपस्थित अतिथिहरूले नयाँ पुस्तालाई बधाई दिँदै जीवनमा जतिसुकै ठूलो सफलता हासिल गरे पनि आफ्नो अनुशासन र निरन्तर सिक्ने बानीलाई कहिल्यै छोड्न नहुने सन्देश दिए।
विद्यालयका कोअर्डिनेटर सौराज प्रधानले कुशलतापूर्वक सहजीकरण गरेको उक्त कार्यक्रमको समापन गर्दै प्रधानाध्यापक गणेश क्षेत्रीले उपस्थित सम्पूर्णप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

