
वीरगन्ज । झिसमिसेमै उठेर आँखा मिच्दै, आधा निद्रामै रुँदै–कराउँदै विद्यालय जान तयार हुनुपर्ने साना बालबालिकाहरूको यो कारुणिक दृश्य अहिले वीरगन्जको घरघरमा देख्न सकिन्छ।
केन्द्र सरकार र स्थानीय सरकारको सामञ्जस्यता नमिल्दा उनीहरुले गर्ने अलग अलग निर्णयको शिकार अहिले निर्दोष बालबालिका र तिनका श्रमजीवी अभिभावक बन्नु परेको छ।
केन्द्र सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यता, स्थानीय सरकारले गर्मीको बहानामा विद्यालयहरूलाई बिहानी सत्रमा मात्र कक्षा सञ्चालन गर्न आदेश दिदै आदेश पालना नगरे कारवाही गर्ने चेतावनी दिन्छ।
दुई सरकारको यही अदूरदर्शी निर्णयको चेपुवामा परेर विद्यालयहरू त समस्यामा परेका छन् नै, तर सबैभन्दा ठूलो मानसिक र शारीरिक सास्ती भने कलिला बालबालिका र उनीहरूका आमाबुबाले भोगिरहेका छन्।
बिहान ६ बजे नै गाउँ–गाउँ र टाढाका चोकहरूबाट विद्यार्थी बोकेर हिँड्नुपर्ने विद्यालयका गाडीहरूका लागि समयको व्यवस्थापन युद्ध जितेजस्तै भएको छ।
कतिपय गाउँका बालबालिकाहरू त बिहान ४ बजे नै उठ्नुपर्ने बाध्यता छ। पर्याप्त निद्रा पुग्न नपाउँदा उनीहरूको शारीरिक र मानसिक विकासमा कस्तो असर परिरहेको होला रु के सरकारले यसको कहिल्यै लेखाजोखा गरेको छ ?
अर्कोतर्फ, अभिभावकहरूको दैनिकी पूर्ण रूपमा अस्तव्यस्त बनेको छ। बिहानै उठेर हतार–हतार बालबालिकाहरूलाई तयार गरी विद्यालय पठाउनुपर्ने र दिउँसो आफ्नो कार्यालय समयको बीचैमा काम छाडेर बालबालिका लिन विद्यालय कुद्नुपर्ने बाध्यताले उनीहरू मानसिक तनावमा छन्।
‘हामीले जागिर जोगाउने कि बच्चाको रेखदेख गर्ने ? सरकारको यो कस्तो नीति हो जसले सर्वसाधारणको ढाड सेक्ने काम मात्र गर्छ ?’ एक पीडित अभिभावकले आक्रोश पोखे।
सरकारले विद्यालय सञ्चालनको अनुमति दिँदा अनेकौँ नियम, कानुन र मापदण्ड तोकेको हुन्छ। त्यही मापदण्ड पूरा गर्न धेरै संस्थागत विद्यालयहरूले करोडौँ रुपैयाँ लगानी गरेर भेन्टिलेसन र उच्च प्रविधियुक्त सुविधा सम्पन्न पूर्वाधार निर्माण गरेका छन्।
उनीहरूका लागि दिउँसोको चर्को गर्मीमा पनि कक्षा सञ्चालन गर्न कुनै समस्या छैन। विद्यालय सञ्चालकहरूका अनुसार, हप्तामा दुई दिनको बिदा र त्यसमाथि बिहानी सत्रको छोटो अवधिले गर्दा तोकिएको पाठ्यक्रम समयमै पूरा गर्नै नसकिने अवस्था सिर्जना भएको छ।
यसले प्रत्यक्ष रूपमा शिक्षाको गुणस्तर खस्काउने निश्चित छ। सुविधा सम्पन्न पूर्वाधार भएका विद्यालयहरूलाई दिउँसोको समयमा आफ्नो अनुकूलता अनुसार विद्यालय सञ्चालन गर्ने वातावरण बनाइदिन विद्यालय प्रशासन र अभिभावकहरूले संयुक्त रूपमा सरकारसँग गुहार मागेका छन्।
के सिंहदरबार र स्थानीय तहका शासकहरूले यी कलीला बालबालिकाहरूको खोसिएको निद्रा र अभिभावकहरूको पीडा देख्लान ? कि अझै पनि आफ्नो हठमै अडिग रहलान ? अब सोच्ने बेला आएको छ।


