सर्लाही। सर्लाहीकाे इश्वरपुर नगरपालिकामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। ईश्वरपुर नगरपालिका वडा नम्बर १२ घारीबथानमा स्थानीय ५ वर्षीय वियान्श बैलकोटीको करेन्ट लागेर मृत्यु भएको हो।
बुधबार बिहान करिब पौने ११ बजेको समयमा सोही स्थानका ५० वर्षीय रामचन्द्र खड्काले कुलोबाट मोटर जोडेर आफ्नो खेतमा सिँचाइ गरिरहेको स्थान नजिक खेलिरहेका बालकलाई अचानक करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भीर घाइते भएका राम बैलकोटीका छोरा वियान्शलाई तत्काल उपचारका लागि ईश्वरपुर नगर अस्पताल बयलबास पठाइएको थियो।
अस्पताल पुर्याएर स्वास्थ्य परीक्षण गर्दा दिउँसो १२ बजे चिकित्सकले बालकलाई मृत घोषणा गरेका हुन्। घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट घारीबथानबाट प्रहरी सहायक निरीक्षक वीरेन्द्र कुमार चौधरीको नेतृत्वमा प्रहरी टोली खटिएको थियो।
हाल मृतक बालकको शव सोही अस्पतालमा राखिएको छ। घटनाको थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय केशरगंजबाट प्रहरी निरीक्षक नितेश कुमार सिंहको कमाण्डमा मुचुल्कासहितको टोली घटनास्थलमा पुगेको छ।
घटना घारीबथान प्रहरी पोष्टबाट करिब डेढ किलोमिटर उत्तरतर्फ भएको प्रहरीले जनाएको छ।

