वीरगन्ज । योग साधना र आयुर्वेद उपचारको प्रख्यात पतञ्जली योगपीठका एकमात्र नेपाली ट्रष्टी भनिएका शालिग्राम सिंह सहित पाँचजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारी ठहर गरेको छ ।
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा ५० थान पोर्टेबल शौचालय खरिद गर्दा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अध्यक्ष र कार्यकारी निर्देशक सिंह सहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
परिषद्ले आर्थिक वर्ष २०७६/०७७ मा खरिद ऐनविपरीत प्रतिस्पर्धा बिना सोझै ५४ लाख ९९ हजार ९९९ रुपैयाँमा शौचालय खरिद गरी सरकारलाई गैरकानुनी हानि पुर्याएको अख्तियारको अनुसन्धानबाट खुलेको छ।
अख्तियारले परिषद्का तत्कालीन अध्यक्ष शालीग्राम सिंह, तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुर, तत्कालीन प्रशासकीय अधिकृत चिरंजिविराज शर्मा ढुङ्गाना र तत्कालीन लेखापाल सावित्री कुमारी गिरीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम मुद्दा दायर गरेको छ।
उनीहरूले आपसी मिलेमतोमा लागत अनुमान र स्पेसिफिकेसन समेत तयार नगरी झुट्टा लिखत बनाएर बजार मूल्यभन्दा अस्वाभाविक बढी मूल्यमा सामान खरिद गरेको पुष्टि भएको आयोगले जनाएको छ।
५० वटा शौचालयको वास्तविक मूल्य करिब ४२ लाख १६ हजार ५०० रुपैयाँ देखिएकोमा ५४ लाख ९९ हजार ९९९ रुपैयाँको सम्झौता गरी राज्य कोषमा क्षति पुर्याएको पाइएको छ।
यसैगरी सो कार्यमा संलग्न रहने ईशिता ट्रेडर्स र त्यसका प्रोपाइटर पशुपति नाथ पाठकविरुद्ध पनि भ्रष्टाचारको मतियार भएको अभियोगमा मुद्दा दायर गरिएको छ।
अख्तियारले सबै प्रतिवादीहरूसँग जनही ५४ लाख ९९ हजार ९९९ रुपैयाँ बिगो कायम गरी जरिवाना, कैद सजाय र बिगो असुलको मागदाबी लिएको छ। तत्कालीन अध्यक्ष सिंहको हकमा भने सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले थप सजायको समेत माग गरिएको छ।
उनी पतञ्जली योगपीठको नेपाल स्थित एकमात्र ट्रष्टीको रुपमा रहेको दावी गरेका थिए । उनले वीरगन्जमा आयोजना गरिएको योग ध्यान शिविरमा भारतीय योग गुरु बाबा रामदेवलाई ल्याउनमा पनि ठूलो भूमिका खेलेका थिए ।
त्यहि बेला सञ्चारकर्मीहरुसँग उनले आफू नेपालको एकमात्र ट्रष्टी भएको दावी गरेका थिए । त्यसपछि उनी जनकपुर स्थित बृहत्तर जनकपुर विकास परिषको अध्यक्षमा नियुक्त भएका थिए ।
आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार खरिद प्रक्रियामा बैंक जमानत समेत नलिई भुक्तानी दिने जस्ता गम्भीर त्रुटीहरू भेटिएका छन्।
