वीरगन्ज । वीरगंजको मिथिलानगरस्थित क्वाइनोनिया वीरगंज चर्चले आइतबार आयोजना गरेको रक्तदान कार्यक्रममा २३ महिलासहित ७९ जनाले रक्तदान गरेका छन् । वीरगंजस्थित रक्तसञ्चार केन्द्रमा रगतको चरम अभाव भएको खबर प्राप्त भएपछि चर्चले ुरक्तदान नै जीवनदान होु भन्ने मूल मन्त्रका साथ यो मानवीय कार्यको आयोजना गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वीरगंज महानगरपालिका वडा नम्बर १६ का वडाअध्यक्ष परशुराम चौरसियाले रगतको अभाव भइरहेको समयमा आयोजित यस कार्यक्रमको उच्च प्रशंसा गरे ।
उनले रक्तदान गर्दा स्वास्थ्यमा कुनै नकारात्मक असर नपर्ने बरु अर्को व्यक्तिको अमूल्य जीवन बचाउन सकिने भएकोले हरेक तीन महिनामा रक्तदान गरी मानवतालाई बलियो बनाउन सबैमा आग्रह गरे ।
नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेलले बढ्दो गर्मीसँगै वीरगंजका नारायणी लगायतका अस्पतालहरूमा रगतको अभावले उपचारमा समस्या आइरहेको बताए ।
यस्तो विषम परिस्थितिमा रक्तदान गरेर बिरामीको जीवन जोगाउन सहयोग गरेकोमा उनले आयोजक र रक्तदाताहरूलाई विशेष धन्यवाद व्यक्त गरे । त्यस्तै शिक्षाविद् मार्टिन मोक्तानले रक्तदानलाई पुण्यको कार्य भन्दै सबैलाई यसमा सहभागी हुन प्रेरित गरे ।
कार्यक्रममा जेबिना महर्जन, राधिका महर्जन, रविता महर्जन, प्रीया मिश्रा, तब्बसुम बेगम, विभा यादव, आसमीन बेगम, क्षेत्र बहादुर क्षेत्री, विशाल सिंह, अन्श पण्डित र नरेन्द्र चौधरी लगायतले रक्तदान गरे ।
चर्चका पाष्टर राजकुमार घिमिरेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, राष्ट्रिय सम्पदा संरक्षण अभियानका संयोजक जफर अन्सारी, पर्सा ख्रीष्टिय समाजका अध्यक्ष पाष्टर सिमोन राई र समाजसेवी राजेन्द्र भट्टराई लगायत स्थानीय अगुवा तथा युवाहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमका अध्यक्ष घिमिरेले छोटो समयको तयारीका बावजुद रक्तदान गरेर सहयोग पुर्याउने सम्पूर्ण महानुभावहरूप्रति आभार प्रकट गरे ।
