काठमाडौं । कपिलवस्तुको बरगदामा केही दिनअघि मन्दिर तोडफोड भएपछि उत्पन्न तनावका क्रममा प्रहरीको गोली लागेर घाइते भएका अरुण यादवको उपचारका क्रममा मृत्यु भएको छ।
स्थानीय हिन्दु मन्दिरमा मुस्लिम समुदायका व्यक्तिहरूद्वारा तोडफोड गरिएको विषयलाई लिएर सुरु भएको शान्तिपूर्ण प्रदर्शनले उग्र रूप लिएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर यादव गम्भीर घाइते भएका थिए।
घटनालगत्तै उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको भए पनि आज उपचारकै क्रममा उनको ज्यान गएको हो। मन्दिर तोडफोड र त्यसपछिको झडपका कारण बरगदा क्षेत्रमा लामो समयदेखि तनावपूर्ण स्थिति कायम छ।
स्थानीय बासिन्दाले धार्मिक आस्थामाथि चोट पुर्याउने दोषीहरूलाई कडा कारबाही र प्रहरी दमनको विरोध गर्दै न्यायको माग गरिरहेका छन्। यादवको मृत्युपछि सो क्षेत्रमा थप सुरक्षा सतर्कता अपनाइएको छ भने स्थानीय प्रशासनले स्थितिलाई साम्य पार्ने प्रयास गरिरहेको छ।
