वीरगन्ज । वीरगन्जस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्सामा सञ्चालित ‘विपद् स्वयंसेवक परिचालन विस्तारित’ तालिम मंगलबार सम्पन्न भएको छ ।
गत फागुन २५ गतेदेखि सुरु भएको यस विशेष तालिमको समापन मंगलबार एक विशेष समारोहका बीच गरिएको हो । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको प्रमुख आतिथ्यतामा आयोजित समापन कार्यक्रममा तालिम सफलतापूर्वक पूरा गरेका २९ जना स्वयंसेवकहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी दाहालले विपद्को समयमा समुदायस्तरमा दक्ष जनशक्तिको उपस्थिति हुनु निकै महत्वपूर्ण रहने बताए । उनले तालिम प्राप्त स्वयंसेवकहरूले आफ्नो सीपलाई समाजको हितमा प्रयोग गर्ने विश्वास व्यक्त गरे ।
करिब ९० जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूले २१ दिनसम्म विपद् व्यवस्थापन र उद्धारका विविध आयामहरूबारे व्यावहारिक ज्ञान हासिल गरेका थिए। सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाका अनुसार यस तालिमले जिल्लाको विपद् प्रतिकार्य क्षमतालाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्री, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय पर्साका उप–अनुसन्धान निर्देशक सन्तोष ढुङ्गेल, श्रीजंग गणका गणपति प्रमुख सेनानी लोकेन्द्र कार्की र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्कीको उपस्थिति रहेको थियो ।

