वीरगन्ज । पर्सा क्षेत्र नम्बर १ का नवनिर्वाचित सांसद हरि पन्तले आफ्नो राजकीय जिम्मेवारीको औपचारिक सुरुवात गर्नुअघि जेन्जी आन्दोलनका शहीद परिवारलाई भेटेर विशेष सम्मान प्रकट गरेका छन् ।
सोमबार प्रतिनिधि सभा सदस्यको सपथ ग्रहण समारोहमा सहभागी हुनुअघि सांसद पन्त जेन्जी आन्दोलनका शहीद असाब आलम ठकुराईको निवासमा पुगेका थिए । वीरगन्ज १२ मुर्लीमा सहिद परिवारसँगको भेटका क्रममा उनले शहीद असाबकी आमा नजला खातुन र भाइ मुराद आलम ठकुराईसँग कुराकानी गर्दै शहीदको बलिदानीले नै देशमा ठूलो परिवर्तन सम्भव भएको स्मरण गरे ।
सांसद पन्तले शहीद परिवारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै उनीहरूलाई दोसल्ला ओढाएर सम्मान समेत गरेका थिए । सो अवसरमा उनले जेन्जी आन्दोलनका शहीदहरूको सपना र उनीहरूको योगदानलाई उच्च सम्मान गर्ने प्रतिबद्धता जनाउँदै अब बन्ने नयाँ सरकारसँग शहीद परिवारका एक सदस्यलाई रोजगारी दिलाउन पहल गर्ने आश्वासन दिए ।
गत भदौ २४ गते कोटेश्वरमा भएको आन्दोलनका क्रममा गोली लागेर असाब आलम ठकुराईको घटनास्थलमै मृत्यु भएको थियो। शहीद आलमका बुबा, आमा, श्रीमती र भाइहरू छन्। आफ्नो कार्यकालको सुरुवात नै शहीदको आँगनबाट गरेर सांसद पन्तले नयाँ पुस्ताको आन्दोलन र भावनालाई सदनसम्म पुर्याउने संकेत गरेका छन् ।

