वीरगन्ज । चैते दशैंको पावन अवसरमा वीरगञ्जको ऐतिहासिक गहवा माई मन्दिरबाट भव्य डोली यात्रा तथा बृहत् रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।
माईस्थान सञ्चालक समितिले आगामी २०८२ चैत १२ गते (२६ मार्च २०२६) बिहीबारका दिन माता गहवा माईको निशानसहितको डोली यात्रा निकाल्ने तयारी गरेको छ।
उक्त डोली यात्रा गहवा माई मन्दिरबाट प्रारम्भ भई बित्ता माई मन्दिर, अलखिया मठ, श्री गणेश मन्दिर, महावीर मन्दिर तथा माईस्थान चिरही जस्ता विभिन्न धार्मिक स्थलहरूको परिक्रमा गरी पुनः मन्दिर परिसरमै पुगेर समापन हुनेछ।
सो अवसरमा माईस्थान मन्दिर परिसरमै डोली यात्राको अघिल्लो दिन बुधबार बिहान ७ बजेदेखि बृहत् रक्तदान कार्यक्रम समेत सञ्चालन गरिने भएको सञ्चालक समिति अध्यक्ष नरेन्द्र साहले जानकारी दिए ।
श्री गहवा माईस्थान मन्दिर र रेडक्रसको सहकार्यमा आयोजना हुने यस कार्यक्रमले मानवीय सेवामा टेवा पुर्याउने बताईएको छ ।
धार्मिक र सामाजिक दुवै पक्षलाई समेटेर आयोजना गर्न लागिएको यस कार्यक्रममा भक्तजनहरूको उत्साहजनक सहभागिता रहने बताईएको छ ।
डोली यात्रालाई व्यवस्थित र भव्य बनाउनका लागि माईस्थान सञ्चालक समितिले ुगहवामाई डोली यात्रा उपसमितिु गठन गरी विशेष तयारी सुरु गरिसकेको छ।
यात्रामा सहभागी भई माताको निशान उठाउन चाहने भक्तजनहरूका लागि समितिको कार्यालयबाट ३५० रुपैयाँ सहयोग उपलब्ध गराई झण्डा, पटुका र टोपी प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ।
थप जानकारीका लागि इच्छुक महानुभावहरूले माईस्थान सञ्चालक समितिको कार्यालयमा सम्पर्क गर्न सक्ने आयोजकले जनाएको छ।

