वीरगन्ज । जिल्ला प्रशासन कार्यालय, पर्साले हाल जिल्लामा खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको पर्याप्त मौज्दात रहेको भन्दै अनावश्यक भण्डारण नगर्न सर्वसाधारणमा अनुरोध गरेको छ।
नेपाल आयल निगम, ग्यास विक्रेता संघ र सम्बद्ध उद्योगहरूले उपलब्ध गराएको विवरण अनुसार आपूर्ति व्यवस्था पूर्ण रूपमा नियमित रहेकाले अभावको कुनै सम्भावना नरहेको प्रशासनले स्पष्ट पारेको छ।
प्रशासकीय अधिकृत सन्तोष रायद्वारा जारी सूचनामा कृत्रिम अभाव सिर्जना गर्ने वा अनावश्यक रूपमा इन्धन र ग्यास जम्माखोरी गर्ने कार्य नगर्न सचेत गराइएको छ।
साथै सुरक्षा संवेदनशीलता र सम्भावित जोखिमलाई मध्यनजर गर्दै पेट्रोल र डिजेलको खुल्ला बिक्री (बोत्तल, ड्रम वा ग्यालेनमा) गर्न पूर्ण रोक लगाइएको छ। प्रशासनले बजारमा कुनै समस्या नभएकाले ढुक्क हुन आग्रह गर्दै नियम विपरीत कार्य गर्नेलाई कारबाही गरिने संकेत समेत दिएको छ।

