काठमाडौं । पर्वतारोहणमा गएका पर्यटकको ‘फेक रेस्क्यु’ (नक्कली उद्धार) गरी बिमा रकम ठगी गरेको आरोपमा एक ट्रेकिङ सञ्चालक पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पानारोमा हिमालय ट्रेकिङ एन्ड एक्सपेडिसन प्रालिका सञ्चालक २७ वर्षीय पासाङ शेर्पालाई बुधबार पक्राउ गरेको हो।
सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका–१ स्थायी ठेगाना भएका शेर्पालाई मुलुकी अपराध संहिता २०७४ को दफा ५१ बमोजिम ‘राष्ट्रहित प्रतिकूल काम गर्न नहुने’ कसूर तथा संगठित अपराधमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। जिल्ला अदालत काठमाडौँबाट अनुमति लिई उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।
उच्च हिमाली क्षेत्रमा पदयात्रामा रहेका विदेशी पर्यटक सामान्य बिरामी हुँदा पनि हेलिकप्टरमार्फत उद्धार गरेको नक्कली कागजात बनाएर डलरमा बिमा रकम दाबी गरी अवैध लाभ लिने गरेको अनुसन्धानमा देखिएको छ। सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार यो प्रकरणमा अहिलेसम्म ट्रेकिङ कम्पनी, अस्पताल, रेस्क्यु एजेन्सी र हेलिकप्टर कम्पनीका सञ्चालकसहित १० जना पक्राउ परिसकेका छन्।
