काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दायर भएको छ। अधिवक्ता लवन न्यौपानेले बुधबार दायर गरेको उक्त मुद्दाको प्रारम्भिक सुनुवाइ आगामी चैत १ गते आइतबारका लागि तोकिएको छ।
गत माघ ११ गते प्रेस चौतारी नेपालले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बस्नेतले दिएको अभिव्यक्तिले न्यायपालिकाको मानमर्दन र अवहेलना भएको दाबी रिट निवेदनमा गरिएको छ।
बस्नेतले उक्त कार्यक्रममा प्रधानन्यायाधीश लगायतका न्यायाधीशहरू विभिन्न दबाब, प्रभाव वा लोभमा परेर न्यायिक प्रक्रियाबाट पन्छिने गरेको र न्यायालय वैदेशिक आक्रमणमा परेको जस्ता विवादास्पद टिप्पणी गरेका थिए। रिटमा उल्लेख भएअनुसार बस्नेतले ‘न्यायाधीशहरू फोन अफ गरेर बस्ने, डराउने र न्याय प्रणाली नै जलेको’ भन्दै सार्वजनिक रूपमा अदालतको हुर्मत लिने काम गरेका छन्।
निवेदक न्यौपानेले बस्नेतको यस्तो अभिव्यक्तिले निष्पक्ष न्यायालयको गरिमामा आँच पुऱ्याएको जिकिर गर्दै उनलाई अदालतको अवहेलनामा हदैसम्मको सजाय गर्न माग गरेका छन्।
