ताप्लेजुङ । बाँदरलाई पासोमा पारी कुकुर लगाएर अमानवीय ढंगले मारेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँचथर घर भई हाल ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बु बस्ने २१ वर्षीय संगम भनिने छप्पु हेम्ब्या रहेका छन्।
बाँदरलाई तड्पाउँदै कुकुरले टोकाएर मारेको भिडियो सार्वजनिक भएपछि विभिन्न निकाय र संघसंस्थाहरूले गम्भीर चासो व्यक्त गरेका थिए। सोही आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले अनुसन्धान अघि बढाएको थियो। प्रहरीका अनुसार उक्त घटना प्रतिनिधि सभाको निर्वाचनभन्दा अगाडि घटेको खुलेको छ।
खेतको बाली जोगाउन थापिएको पासोमा परेका बाँदरलाई कुकुरद्वारा आक्रमण गराएको र सोको भिडियो बनाएर सामाजिक सञ्जालमा राखेको अभियोगमा हेम्ब्यालाई पक्राउ गरिएको हो। उनीमाथि पशु निर्दयतासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
