काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव चुलिँदै गएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल आयल निगमसँग विस्तृत विवरण माग गरेको छ। दुई महिनादेखि देखिएको समस्या समाधानका लागि विभागले निगमलाई एक वर्षको माग र आपूर्तिको मासिक तथ्यांक पेस गर्न निर्देशन दिएको हो।
विभागले हाल सञ्चालनमा रहेका ग्यास उद्योगको संख्या, उनीहरूलाई जारी गरिएको पीडीओ (PDO) र काठमाडौं उपत्यकाको वास्तविक मागबारे स्पष्ट जानकारी मागेको छ। निगमले बजारमा अभाव नरहेको दाबी गरे पनि अनुगमनका क्रममा उपभोक्ताले ग्यास नपाएको भेटिएपछि विभागले सक्रियता बढाएको हो।
ग्यास अभावको बहानामा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि रोक्न अनुगमन टोली परिचालन गरिएको छ। समस्या समाधानका लागि बुधबार मन्त्रीस्तरीय बैठक बस्ने र उक्त बैठकमा निगमले ठोस ‘संकट व्यवस्थापन योजना’ पेस गर्नुपर्ने विभागका निर्देशक नरहरि तिवारीले जानकारी दिनुभयो।
