वीरगंज । कात्तिकमा मात्रै निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको श्रम संस्कृति पार्टीले स्थापनाको छोटो समयमै प्रतिनिधिसभा निर्वाचनमा उत्साहजनक नतिजा निकालेको छ।
धरान उपमहानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर चुनावी मैदानमा होमिएका पार्टी अध्यक्ष हर्कराज राई (साम्पाङ) सुनसरी-१ बाट ३५ हजार ७४१ मतका साथ विजयी भएका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई ८ हजार ४९२ मतान्तरले पराजित गरेका हुन्।
खोटाङबाट सोही पार्टीका आरेन राई १६ हजार ६१२ मत प्राप्त गर्दै निर्वाचित भएका छन् भने भोजपुरमा ध्रुवराज राईले एमाले सचिव एवं पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै संसद्को यात्रा तय गरेका छन्।
प्रत्यक्षतर्फ तीन सिट जितेको यस पार्टीले समानुपातिकतर्फ हालसम्म १ लाख ७ हजार ३२ मत प्राप्त गरेको छ। समानुपातिकतर्फको थ्रेसहोल्ड कटाएमा पार्टीले थप सांसद पाउने सम्भावना रहेको छ।
