वीरगञ्ज । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन जिल्ला प्रशासन कार्यालय पर्साले आज शुक्रबारदेखि जिल्लाभर मदिरा निषेध गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी बिनोद कुमार पोखरेलका अनुसार, निर्वाचनको अन्तिम परिणाम घोषणा नहुन्जेलसम्मका लागि मदिराको उत्पादन, ढुवानी, बिक्री-वितरण र सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको हो। मदिराका कारण शान्ति सुरक्षामा हुनसक्ने अवरोधलाई मध्यनजर गर्दै गृह मन्त्रालयको निर्देशन र निर्वाचन आयोगको मापदण्ड बमोजिम जिल्ला सुरक्षा समितिले यो निर्णय लिएको हो।
प्रशासनले जिल्लाका सबै होटल, रेस्टुरेन्ट र पसलहरूलाई मदिराको कारोबार नगर्न निर्देशन दिँदै नियम उल्लंघन गर्नेलाई हिरासतमा लिने र कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको छ। विशेषगरी सीमावर्ती क्षेत्रमा अवैध ओसारपसार रोक्न सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा राखिएको छ।

