काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै प्रहरी प्रधान कार्यालयले सुरक्षा व्यवस्थालाई अत्यन्तै कडा बनाएको छ। निर्वाचनको सुरक्षा कमान्ड सम्हाल्न र जिल्लागत समन्वय गर्न बुधबारदेखि ७७ जना उच्च प्रहरी अधिकारीहरूलाई ‘विशेष’ जिम्मेवारीसहित फिल्डमा खटाइएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार निर्वाचन सुरक्षाका लागि ३१ जना एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक) र ४६ जना एसपी (प्रहरी उपरीक्षक) लाई विभिन्न जिल्लाको जिम्मेवारी तोकिएको छ। उनीहरूले कम्तीमा दुई जिल्लासम्मको सुरक्षा समन्वय गर्ने गरी कार्यभार सम्हाल्नेछन्।
धेरैजसो एसएसपीहरूलाई तराईका संवेदनशील जिल्लाहरूमा खटाइएको छ भने काठमाडौँ उपत्यकामा थप ५ जना एसएसपीलाई फिल्डमा उतारिएको छ। भौगोलिक चुनौती र सुरक्षा संवेदनशीलताका आधारमा एसपीहरूलाई पहाडी र हिमाली जिल्लाको समन्वय गर्ने जिम्मा दिइएको छ।
निर्वाचनका लागि काठमाडौँ उपत्यकाबाट मात्र १३ हजार प्रहरीलाई थप मद्दतका लागि बाहिरका जिल्लाहरूमा पठाइएको छ। यसअघि नै ४४ डीएसपी र ११० जना इन्स्पेक्टरलाई दुई साताअघि नै कार्यक्षेत्रमा खटाइसकिएको थियो।
प्रहरीको यो व्यापक परिचालनले निर्वाचनलाई धाँधलीरहित र सुरक्षित वातावरणमा सम्पन्न गराउन मद्दत पुग्ने विश्वास गरिएको छ।
