काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि बुधबार राति सिंगापुर प्रस्थान गर्नुभएको छ। आगामी निर्वाचनको रन्को बढिरहेका बेला देउवाको यो विदेश भ्रमणलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।
विमानस्थल सुरक्षा स्रोतका अनुसार देउवा बुधबार राति ११:३० बजेको सिंगापुर एयरलाइन्सको उडानबाट त्यसतर्फ लाग्नुभएको हो। राति साढे १० बजेतिर उहाँ अन्तर्राष्ट्रिय टर्मिनलको प्रतीक्षा कक्षमा २–३ जना सहयोगीका साथ देखिनुभएको थियो।
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापति पद गुमाएपछि देउवा पार्टीको संस्थापन पक्षसँग असन्तुष्ट रहँदै आउनुभएको थियो। निर्वाचन आयोग र सर्वोच्च अदालतबाट समेत कानुनी उपचार नपाएपछि यसपटकको निर्वाचनमा उहाँको भूमिका शून्यप्रायः देखिएको छ।
वर्तमान सभापति गगन थापाले टिकट नदिएपछि देउवा यसपटकको प्रतिनिधि सभा निर्वाचनको प्रक्रियाबाट पूर्णतः बाहिरिनुभएको थियो। ‘बदलिएको कांग्रेस’ का पदाधिकारीहरूले पार्टीको चुनावी अभियानमा साथ दिन आग्रह गरे पनि देउवाले त्यसलाई अस्वीकार गर्दै आउनुभएको थियो। उहाँले रुख चिह्नमा मत माग्नका लागि सार्वजनिक अपिल गर्न समेत मान्नुभएको थिएन।
देउवाको सचिवालयले पार्टी नेतृत्वमाथि “सेटिङ मिलाएर जबर्जस्ती पार्टी कब्जा गरेको” आरोप लगाउँदै अहिले आएर देउवाको साथ खोज्नुको तुक नरहेको टिप्पणी गरेको छ।
वि.सं. २०४८ देखि लगातार सात पटक डडेलधुराबाट चुनाव जितेका देउवाको क्षेत्रमा यसपटक उहाँ निकटकै युवा नेता नैनसिंह महरले टिकट पाउनुभएको छ। यसअघि देउवा मतदानका लागि समेत डडेलधुरा नजाने समाचारहरू सार्वजनिक भएका थिए। निर्वाचनको ठीक अगाडि उपचारको बहानामा विदेश जानुले उहाँले यसपटक मतदान समेत नगर्ने निश्चित भएको देखिएको छ।
प्रवक्ता देवराज चालिसेले देउवालाई अभियानमा जोड्ने प्रयास भइरहेको बताए पनि देउवाको यो प्रस्थानले कांग्रेसभित्रको आन्तरिक विवाद अझै सतहमा ल्याइदिएको छ।
