वीरगन्ज । पर्साको वीरगन्जमा दुई समुदायबीच उत्पन्न तनाव साम्य पार्न सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले तीन बुँदे महत्वपूर्ण निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधि र हिन्दु तथा मुस्लिम समुदायका अगुवाहरूको सहभागितामा भएको उक्त बैठकले शान्ति सुव्यवस्था कायम गर्न ठोस सहमति जुटाएको हो।
सहमतिअनुसार वीरगन्ज–११ श्रीपुरमा आइतबार भएको घटनाका दोषीहरूलाई तत्काल कानुनी दायरामा ल्याउने र पीडित पक्षको जाहेरीका आधारमा यथाशीघ्र कानुनी प्रक्रिया अगाडि बढाइनेछ। यस प्रक्रियामा धार्मिक अगुवाहरूले समेत सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन्। त्यस्तै, व्यक्तिगत घटनालाई लिएर सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्ने, घृणा फैलाउने (हेट स्पीच_ वा सद्भाव बिथोल्ने खालका गतिविधि गर्नेलाई साइबर कानुन बमोजिम कडा कारबाही गर्ने निर्णय समेत गरिएको छ।

बैठकले आगामी दिनमा जिल्लाको सामाजिक र धार्मिक सद्भाव अक्षुण्ण राख्न नागरिक समाज, राजनीतिक दल र सञ्चारकर्मीहरूले आ-आफ्नो तर्फबाट अपिल जारी गर्ने सहमति पनि गरेको छ। वीरगन्जको अवस्था बिस्तारै सामान्य बन्दै गएपछि सोमबार बिहान ९:४५ देखि लगाइएको कर्फ्यु आदेश सोही दिन अपराह्न ४:३० बजेदेखि हटाइएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए।
यद्यपि, सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रशासनले कर्फ्यु हटाए लगत्तै वीरगन्ज महानगर क्षेत्रमा निषेधाज्ञा भने जारी गरेको छ। सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि कुनै पनि प्रकारका सभा, जुलुस, भेला वा प्रदर्शन गर्न नपाइने गरी स्थानीय प्रशासन ऐन २०२८ बमोजिम यो आदेश लागू गरिएको हो। शान्तिपूर्ण वातावरण कायम राख्न प्रशासनले सबै पक्षलाई संयमित हुन र सद्भाव कायम राख्न आग्रह गरेको छ।
