धादिङ । पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग१ख १४२१ नम्बरको यात्रुवाहक बस आज बिहान करिब १:३० बजे धादिङको बेनिघाट रोराङ–५, भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको छ। सडकबाट करिब ३०० मिटर तल नदीमा बस खस्दा १७ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।
सशस्त्र प्रहरी बलका अनुसार हालसम्म १७ जनाको शव निकालिएको छ। घाइते २४ जनालाई तत्काल उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ। बसमा ४६ जना यात्रु रहेको प्रारम्भिक अनुमान गरिएको छ, जसका कारण अझै केही यात्रु बेपत्ता हुन सक्ने आशंकामा खोजी कार्य तीव्र पारिएको छ।
उद्धारका लागि कुरिनटारबाट गोताखोरसहितको टोली र आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुनिल गिरिको कमाण्डमा टोली खटिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपानेले डुंगाको सहायताले खोजी र उद्धार कार्य जारी रहेको जानकारी दिनुभयो। मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ भने दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।
