दाङ । दाङमा नेकपा (एमाले)को झण्डा जलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर-७, कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेत रहेका छन्।
जिल्ला प्रहरी कार्यालय, दाङको टोलीले अनुसन्धानका क्रममा बस्नेतलाई पक्राउ गरी हिरासतमा राखेको छ। फागुन ७ गते राति साढे ९ बजेतिर तुलसीपुर-५ स्थित वीरेन्द्र चोकमा एमालेको झण्डा जलाइएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको स्वागतका लागि भेला भएका व्यक्तिहरूले झण्डा जलाएको बताइएको छ। एमालेले आफ्ना कार्यकर्ताको अपमान गर्न रास्वपाका कार्यकर्ताले नियोजित रूपमा झण्डा जलाएको आरोप लगाएको छ। रास्वपाले भने उक्त घटनामा आफ्ना कार्यकर्ताहरूको कुनै संलग्नता नरहेको स्पष्टीकरण दिएको छ।
प्रहरीले घटनामा संलग्न हुनसक्ने अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको र थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ।
