वीरगंज । आगामी निर्वाचनको सरगर्मी बढ्दै जाँदा प्रगतिशील लोकतान्त्रिक पार्टीले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएको छ। यसै सिलसिलामा पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार अमिताभबच्चन दासले वीरगंज महानगरपालिका वडा नम्बर ३ मा आफ्नो घरदैलो कार्यक्रम भव्य रूपमा सम्पन्न गरेका छन्।
स्थानीय बासिन्दाहरूसँगको भेटघाटका क्रममा उम्मेदवार दासले वीरगंजको पुरानो व्यापारिक विरासतलाई फर्काउन र यस शहरलाई मुलुककै वास्तविक आर्थिक राजधानी बनाउन आफूले विशेष पहल गर्ने दृढता व्यक्त गरे।
उम्मेदवार दासले वीरगंजलाई केवल घोषणामा मात्र नभई व्यवहारमै आर्थिक हब बनाउन नीतिगत सुधार र व्यापारिक वातावरणको सुनिश्चितता आफ्नो पहिलो प्राथमिकता रहने बताए।
उनले यहाँका उद्योगी र व्यवसायीहरूले भोग्दै आएका समस्या समाधान गरी लगानीमैत्री वातावरण निर्माण गर्न आफू सधैँ तत्पर रहने प्रतिबद्धता समेत जनाए।
घरदैलोका क्रममा मतदाताहरूले उनलाई भव्य स्वागत गर्दै स्थानीय विकास र आर्थिक समृद्धिका लागि नयाँ सोच भएको नेतृत्वको आवश्यकता रहेको धारणा राखेका थिए।
