वीरगन्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा पर्सा क्षेत्र नम्बर १ र २ मा चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ। तर, यसपटकको निर्वाचनमा नीति, विचार र एजेन्डाभन्दा पनि ‘पैसा र भीड’ को प्रदर्शन हाबी देखिएको छ। शक्ति र धनको यो तडकभडकपूर्ण प्रतिस्पर्धाका बीच निष्ठाको राजनीति गर्ने र जनताका वास्तविक भरोसायोग्य भनिएका उम्मेदवारहरू भने ओझेलमा पर्दै गएका छन्।
पर्सा क्षेत्र नम्बर १ र २ को चुनावी मैदानलाई नियाल्दा यहाँ स्थापित ‘हेभिवेटु’ र नयाँ युवा उम्मेदवारहरूबीच तीव्र ध्रुवीकरण देखिन्छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले यसपटक दुवै क्षेत्रमा व्यावसायिक र युवा अनुहारलाई अघि सारेको छ।
ADVERTISEMENT
क्षेत्र नम्बर १ मा युवा चार्टर्ड एकाउन्टेन्ट अजय चौरसिया र क्षेत्र नम्बर २ मा लामो समयदेखि राजनीतिमा सक्रिय युवा मनोज भाट (कुर्मी) चुनावी मैदानमा छन्। पद र पैसाको लोभभन्दा बाहिर रहेर सामाजिक छवि बनाएका यी उम्मेदवारहरूलाई पार्टीले ‘भरोसायोग्य’ पात्रका रूपमा प्रस्तुत गरे पनि स्रोत–साधनले सम्पन्न प्रतिस्पर्धीहरूसँगको दौडमा उनीहरूले ठूलो संघर्ष गर्नुपरेको छ।
क्षेत्र नम्बर १ मा नेकपाका चौरसियाको प्रतिस्पर्धा नेपाली कांग्रेसका धनाढ्य उद्यमी अनिल रुंगटा र पदकै लागि पटक–पटक दल बदल्न माहिर मानिएका एमालेका प्रदीप यादवसँग छ। यादव र रुंगटा दुवैले चुनावी अभियानमा ठूलो जनशक्ति र आर्थिक स्रोत परिचालन गरेका छन्। अर्कोतर्फ, क्षेत्र नम्बर २ मा कांग्रेसका पुराना हस्ती अजय कुमार चौरसिया र एमालेकी रीना यादव जस्ता शक्तिकेन्द्रको निकट मानिने पात्रहरू छन्। त्यस्तै, वडा अध्यक्षबाट सिधै संसदको यात्रा तय गर्न खोजेका सुशील साह कानु पनि चुनावी दौडमा छन्। यी उम्मेदवारहरूको तामझाम र भीडभाडका अगाडि निष्ठाको राजनीति गर्ने युवा उम्मेदवारहरूको स्वर मतदातासम्म पुग्न कठिन भइरहेको छ।
मधेशको चुनावी राजनीतिमा प्रायः पैसा र भीडलाई नै शक्तिको मानक मान्ने गरिन्छ। यही सामाजिक मनोविज्ञानको फाइदा उठाउँदै धनाढ्य र शक्तिप्रेमी उम्मेदवारहरूले मतदातालाई प्रभावित पार्ने कोसिस गरिरहेका छन्। नेकपाका युवा उम्मेदवारहरू घरदैलो र व्यक्तिगत भेटघाटमा व्यस्त भए पनि ‘माहोल’ बनाउने नाममा हुने खर्चिलो प्रचारबाजीले गर्दा उनीहरूको उपस्थिति ओझेलमा परेको विश्लेषण हुन थालेको छ।
सीए अजय चौरसिया क्षेत्र नम्बर १ उम्मेदवार
नेकपा पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार सीए अजय चौरसिया भन्छन्, ‘पेशागत जीवनमा धेरै व्यावसायिक फर्महरुको अडिट गरेको छु । युवाहरुलाई रोजगारी पनि दिएको छु । मलाई कुनै पैसा र पदको लोभ लालचले होईन । मेरो पेशागत अनुभवबाट सिकेका सीप र ज्ञानलाई जनमतबाट संसदमा पुगेर देशकै आर्थिक, सामाजिक र न्याययिक अडिट गर्न तयार छु । यदि जनताले सही व्यक्ति छान्ने हो भने । म तयार नै छु । होईन भने, २२ गतेदेखि मेरो आफ्नो व्यावसायिक जीवनको निरन्तरता कसैले रोक्न सक्दैन । यदि जनताले योग्य र क्षमतावान व्यक्ति छान्ने हो भने नेकपाको तारा चिन्हमा भोट हाल्नुहुन्छ भन्ने विश्वास छ । भीड र पैसाको पछि लाग्नेहरुको कुनै औषधि छैन ।’
मनोज चौधरी क्षेत्र नम्बर २ उम्मेदवार
त्यस्तै क्षेत्र नम्बर २ का उम्मेदवार मनोज भाट (कुर्मी) पनि राजनीतिक रुपमा स्वच्छ छवि भएको व्यक्ति हुन् । उनी वीरगन्जको सबैभन्दा पूरानो शैक्षिक धरोहर ठाकुरराम बहुमुखी क्याम्पसबाटै राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् । उनको जीवन राजनीतिक सेवामै समर्पित गरेका छन् । उनी भन्छन्, ‘म राजनीतिमा लागेदेखि जनताकै सेवामा समर्पित छु । जनताकै सेवामा लागेर पारिवारिक सुख, सुविधा र लोभ लालच केही छैन । एक्लो जीवन जनताकै लागि जनतामै समर्पित गर्नेछु । अहिलेसम्म कुनै नागरिकलाई गलत गरेको छैन । राज्यको कुनै लाभको पदमा बसेर भ्रष्टाचार गरेको छैन । त्यसैले पनि मलाई जनताले विश्वास गर्छन् ।’
पर्साका यी दुई निर्वाचन क्षेत्रले अबको नेतृत्व कस्तो रोज्ने भन्ने विषयले समग्र मधेशकै राजनीतिक दिशा तय गर्ने देखिन्छ। के जनताले पैसा र भीडको पछि लागेर पुरानै अनुहारलाई दोहोर्याउनेछन् वा विकल्पका रूपमा आएका युवा र योग्य उम्मेदवारलाई भरोसा गर्नेछन्र ? यो प्रश्न अहिले वीरगन्जका चियापसलदेखि गाउँका चौतारासम्म बहसको विषय बनेको छ।
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।