काठमाडौँ । १०४ वर्षे जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा आज ७६औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशभर मनाइँदै छ। यसै अवसरमा आज बिहान काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिद्वारा विशेष कार्यक्रम आयोजना गरिएको छ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको गरिमामय उपस्थिति रहेको छ भने प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्दै प्रजातन्त्रको महत्त्व र वर्तमान चुनौतीबारे सरकारको दृष्टिकोण राख्ने कार्यक्रम छ।
१९९७ सालमा सहिदहरू शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठको बलिदान तथा २००७ सालको जनक्रान्तिको जगमा आजकै दिन नेपालमा प्रजातान्त्रिक व्यवस्थाको सूत्रपात भएको थियो। यसै उपलब्धिको सम्मानमा आज देशभर सार्वजनिक बिदा दिइएको छ भने सरकारी निकाय, शिक्षण संस्था र विदेशस्थित नेपाली दूतावासहरूमा दीप प्रज्वलनसहित विविध कार्यक्रम गरिँदै छ।
