भोजपुर । भोजपुर नगरपालिका–३ स्थित सेतीबगर नजिकै निर्वाचन सुरक्षाका लागि खटिएका नेपाली सेना सवार बस दुर्घटनामा परेको छ। जिल्ला सदरमुकामबाट टेम्केमैयुङ गाउँपालिकातर्फ जाँदै गरेको ना ४ ख ७३१७ नम्बरको बस बुधबार दिउँसो सडकको घुम्तीबाट तल खसेर दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक (DSP) राजु लामाका अनुसार, बसमा नेपाली सेनाको नयाँ श्रीनाथ गणका २४ जना सैनिक र चालकसहित कुल २६ जना सवार थिए। दुर्घटनामा परी २४ जना घाइते भएका छन्। बस सडकबाट करिब २०० मिटर तल खसेको बताइएको छ।
दुर्घटना लगतै नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरिएको थियो। दुर्घटनामा परी गम्भीर चोट लागेका ८ जना घाइतेहरूलाई थप उपचारका लागि नेपाली सेनाको दुई वटा हेलिकप्टरमार्फत तत्काल काठमाडौँ पठाइएको छ। सामान्य तथा मध्यम चोट लागेका अन्य घाइतेहरूको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनको सुरक्षा व्यवस्थापन र ‘वेस क्याम्प’ स्थापनाका लागि नयाँ श्रीनाथ गणको टोली पश्चिम भोजपुरको टेम्केमैयुङतर्फ जाँदै गर्दा यो दुःखद घटना भएको हो।
प्रहरीले घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ। प्रारम्भिक अनुमान अनुसार घुम्तीमा बस अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने देखिएको छ।

