वीरगन्ज । मुलुककै प्रमुख व्यापारिक नाका वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा १ खर्ब ३५ अर्ब ४८ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
भन्सार विभागले सो अवधिसम्मका लागि १ खर्ब ५३ अर्ब ८४ करोड रुपैयाँको लक्ष्य तोकेको भए तापनि कार्यालयले लक्ष्यको ८८.०७ प्रतिशत मात्र राजस्व उठाउन सकेको हो। यद्यपि, अघिल्लो वर्षको तुलनामा यस वर्षको राजस्व सङ्कलनलाई कार्यालयले उत्साहजनक मानेको छ।
कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवको सात महिनामा महिनागत राजस्व सङ्कलन विवरण यस प्रकार छ:
| महिना | सङ्कलन (अर्बमा) |
| साउन | १८.४४ |
| भदौ | २०.७३ |
| असोज | १९.०९ |
| कात्तिक | १७.३३ |
| मङ्सिर | २०.८० |
| पुस | २०.२० |
| माघ | १८.९० |
माघ महिनाका लागि कार्यालयले २१ अर्ब २९ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो। तर, लक्ष्यको तुलनामा करिब २ अर्ब ३९ करोड न्यून अर्थात् १८ अर्ब ९० करोड रुपैयाँ मात्र सङ्कलन भएको छ।
भन्सार विभागले वीरगन्ज भन्सार कार्यालयलाई यस आर्थिक वर्षका लागि कुल २ खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ राजस्व सङ्कलनको वार्षिक लक्ष्य दिएको छ। सात महिनाको तथ्याङ्क हेर्दा कार्यालयले वार्षिक लक्ष्यको झण्डै आधा हिस्सा पूरा गरिसकेको छ।
वीरगन्ज नाकाबाट मुख्यतया पेट्रोलियम पदार्थ, सवारीसाधन, औद्योगिक कच्चा पदार्थ र खाद्यान्न आयात हुने गर्दछ, जसले राजस्वको मुख्य हिस्सा ओगट्दै आएको छ।
