वीरगन्ज । सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गर्ने र सवारी साधन तोडफोडमा संलग्न आरोपमा पक्राउ परेका ६ जनालाई ज्यान मार्ने उद्योग र आपाराधिक उपद्रबमा मुद्दा दायर गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रव सम्बन्धि कसूरमा संलग्न ६ जना व्यक्तिहरूलाई पक्राउ गरी कानूनी कारबाही अगाडि बढाएको हो।
माघ २६ गते वीरगञ्ज महानगरपालिका वडा नं.– १० आदर्शनगरस्थित रुन्चे मदन भनिने मदन गुप्ताको गोदाममा भन्सार छलीका सामान भण्डारण गरिएको सूचनाका आधारमा सशस्त्र प्रहरी बल र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोली अनुसन्धानका लागि पुगेको थियो।
उक्त टोली गोदाममा पुग्दा स्थानीय व्यक्तिहरूको समूहले सुरक्षाकर्मीहरूलाई घेरा हाली ढुङ्गामुढा र भाठा प्रहार गर्नुका साथै सरकारी सवारी साधन समेत तोडफोड गरेका थिए।
प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा वीरगञ्ज महानगरका प्रमोद कुमार कानु, दिपराज सहनी मलाह र कुन्जन सर्राफलाई नियन्त्रणमा लिएको छ।
त्यसैगरी विन्दवासिनी गाउँपालिकाका श्रीचन्द्र प्रसाद साह तथा भारतीय नागरिकहरू प्रभु महतो र पृतम कुमार चौधरीलाई पनि पक्राउ गरिएको छ। पक्राउ परेका सबै जनालाई पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव सम्बन्धि मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
मदन गुप्ता (रुन्चे) भने अझै फरार रहेका छन् । घटनापछि उनी फरार भएका हुन् । गुप्ताले मुद्दा मिलाउन भित्री रुपमा सेटिङ मिलाउने प्रयास गरिरहेको स्रोतले जनाएको छ ।
उनले आफ्नो बारेमा सञ्चार माध्यमहरुमा समाचार नआओस भनेर आर्थिक रुपमा प्रभाव पार्न खोजेको पनि स्रोतको भनाई छ ।
नेपाल भारत सीमाक्षेत्रमा भन्सार छलि गरेर सामान भित्र्याउने काममा बदनाम गुप्ता नै सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गर्ने मुख्य योजनाकार रहेको प्रहरीको अनुसन्धानबाट देखिएको र उनको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
