काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको अभियोगमा स्पष्टीकरण सोधेकामध्ये हालसम्म २४ जना उमेदवारले जवाफ बुझाएका छन्। आयोगले विभिन्न राजनीतिक दल र उमेदवार गरी कुल ३४ जनालाई स्पष्टीकरण सोधेको थियो।
बाँकी १० जना उमेदवारले भने हालसम्म आयोगलाई आफ्नो जवाफ पठाएका छैनन्। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्राप्त उजुरीहरूमाथि आवश्यक जाँचबुझ र कारबाहीको प्रक्रिया अगाडि बढिरहेको छ।
आचारसंहिताको प्रभावकारी कार्यान्वयन र उल्लंघनका घटना न्यूनीकरणका लागि आयोगले केन्द्रदेखि जिल्लास्तरसम्म विभिन्न संयन्त्रहरू परिचालन गरेको छ। निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई अनुगमन अधिकृतको जिम्मेवारी दिइएको छ। उनीहरूले आर्थिक बाहेकका अन्य आचारसंहिता उल्लंघनका विषयहरू हेर्नेछन्।
आर्थिक विषयसँग सम्बन्धित आचारसंहिता उल्लंघनको अनुगमनका लागि जिल्लामा प्रमुख कोष नियन्त्रक र कोष नियन्त्रकलाई जिम्मेवारी तोकिएको छ। केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति र सम्बन्धित निर्वाचन कार्यालयहरू पनि सक्रिय रहेका छन्।
आयोगले छोटो समयमै सबै जिल्लाका सरोकारवालाहरूलाई आचारसंहिताबारे जानकारी गराउनुका साथै पालनाका लागि प्रतिबद्ध गराउने कार्य प्रभावकारी रूपमा भइरहेको जनाएको छ।
जिल्लास्तरमा प्राप्त भएका उजुरीहरूमाथि तत्काल कारबाही प्रक्रिया अगाडि बढाइएको र आचारसंहिताको पालना गराउन कुनै सम्झौता नगर्ने आयोगको रणनीति देखिन्छ।
