यसअघि दुर्घटनास्थलमै आठजनाको मृत्यु भएको थियो भने डडेलधुरा अस्पतालमा उपचाररत पाँचजनाले ज्यान गुमाएका हुन्। दुर्घटनामा ३४ जना घाइते भएका छन्। बेहुला–बेहुली भने अर्को सवारीसाधनमा रहेकाले सकुशल रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बैतडीको पुर्चौंडीबाट जन्ती बोकेर बझाङतर्फ जाँदै गरेको सु.प.प्र. ०२–००१ ख १११९ नम्बरको पवनदूत यातायातको बस बिहीबार राति अनियन्त्रित भई करिब २०० मिटर तल खसेको थियो। बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्कने क्रममा बस दुर्घटनामा परेको हो।
दुर्घटनामा परी बझाङ बित्थडचिर गाउँपालिका–७ निवासी ४० वर्षीय केशबराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय वसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी, ४२ वर्षीय नरेशराज जोशी, केदारस्यु गाउँपालिका–६ का ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय वसन्तराज रतला, बैतडी पुर्चौंडी–७ की ४० वर्षीया पुष्पा अवस्थी, बझाङ बित्थडचिर–७ का १७ वर्षीय बिसनदत्त जोशी, २८ वर्षीय दीपकराज जोशी, ४६ वर्षीय किसनदत्त जोशी, बझाङ केदारस्यु–७ का २७ वर्षीय केशबदत्त भट्ट तथा
बैतडी पुर्चौंडी–७ का १४ वर्षीय सुशील जोशीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
घाइतेमध्ये २५ जनाको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ भने चार जनाको बझाङको देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। गम्भीर घाइते पाँचजनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ।
घाइतेहरूको नामावली सार्वजनिक गरिएको छ, जसमा बझाङ र बैतडीका विभिन्न स्थानका ३४ जना रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडुका अनुसार बस चालक वीरेन्द्र बुढालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको छ।
दुर्घटनापछि स्थानीय प्रशासन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोलीले उद्धार तथा उपचार कार्य तीव्र पारेको थियो। घटनाले सिंगो क्षेत्र शोकमा डुबेको छ।
