काठमाडौँ । सूचना प्रविधि क्षेत्रको विकासका लागि नेपाल र अमेरिकी कम्पनीहरूबीच सहकार्यमा जोड दिईएको छ । एम्क्याम नेपालद्वारा आयोजित ‘ब्रेकफास्ट’ बैठकमा नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास र सम्भावनाबारे गरिएको छलफलमा अमेरिकी कम्पनीहरुसँग सूचना प्रविधिको क्षेत्रको विकासका लागि नेपालको सहकार्यमा जोड दिईएको हो ।
नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट उर्बोमले प्रविधिको क्षेत्रमा नयाँ सोच र दुई देशका कम्पनीहरूबीचको सहकार्यलाई कसरी थप मजबुत बनाउन जोड दिए ।
छलफलमा कार्यवाहक राजदूत उर्बोमले यी कम्पनीहरूले नेपालको निजी क्षेत्रमा आधारित नवाचार र वृद्धिलाई सहयोग गरिरहेकोमा प्रशंसा गरे ।
यस्ता सहकार्यले प्राविधिक स्तरउन्नति मात्र नभई समग्र आर्थिक विकासमा समेत टेवा पुऱ्याउने उल्लेख गरिएको छ। नेपालमा प्रविधि क्षेत्रमार्फत नयाँ आर्थिक अवसरहरू सिर्जना गर्ने र डिजिटल अर्थतन्त्रलाई बढावा दिने बारे संवाद भएको थियो।
निजी क्षेत्रको नेतृत्वमा हुने यस्ता पहलहरूले नेपालमा उच्च दक्ष जनशक्तिका लागि रोजगारीका अवसरहरू बढाउने विश्वास व्यक्त गरिएको छ।
उक्त कार्यक्रममा नेपाल र अमेरिकाका प्रतिष्ठित सूचना प्रविधि कम्पनीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। छलफलमा अमेरिकी र नेपाली कम्पनीहरूले संयुक्त रूपमा प्राविधिक विकास र लगानीका लागि प्रतिबद्धता जनाएका छन्।
सहभागी कम्पनीहरू यस प्रकार छन्:
| अमेरिकी कम्पनीहरू | नेपाली कम्पनीहरू |
| फ्यूजमसिन्स (Fusemachines) | नियोटेरिक (Neoteric) |
| लिपफ्रग (Leapfrog) | वर्ल्डलिंक (WorldLink) |
| सेक्युरिटीपाल (SecurityPal) | |
| सिडर गेट (Cedar Gate) | |
| निउरल (Niural) | |
| भिल (Veel) |
