काठमाडौँ | नेकपा एमालेका सचिव तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईले आगामी निर्वाचनमा भोजपुरबाट आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन्। उम्मेदवारी दर्ता गरेर राजधानी फर्किएका राईले सिनामंगलस्थित आफ्नै लगानीको एक रेस्टुरेन्टमा निकटस्थहरूसँग आयोजना गरेको गोप्य बैठकमा यस्तो दाबी गरेका हुन्।
बैठकमा सहभागी एक नेताका अनुसार, राईले आफ्नो जितको प्रमुख आधारका रूपमा नेपाली कांग्रेसभित्रको एउटा समूहको सहयोगलाई प्रस्तुत गरेका छन्। कांग्रेसका पूर्व कोषाध्यक्ष उमेस श्रेष्ठको समूहले आफूलाई भित्री रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाएको राईले बैठकमा ब्रिफिङ गरेका थिए।
विशेष गरी भोजपुर नगरपालिकाका मेयर कैलाश आलेसहितको टोलीलाई आफ्नो पक्षमा परिचालन गर्न श्रेष्ठले बचन दिएको दाबी गरिएको छ।
स्रोतका अनुसार राईलाई जिताउन भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ समेत सक्रिय देखिएका छन्। बैठकमा राईले गुरुङमार्फत आफूले धेरैलाई रोजगारी दिलाउन सक्ने भन्दै मतदाता फकाउने रणनीति सुनाएका थिए। उनले बैठकमा भनेका थिए:
“भाटभटेनी सुपर मार्केटमा एक-दुई सय जनालाई रोजगारी दिन सक्छु, भोजपुरका मान्छेहरूको सूची बनाउनुहोस्।”
शेरधन राई, उमेश श्रेष्ठ र मीनबहादुर गुरुङबीचको सम्बन्ध ‘व्यापारिक लगानी’मा आधारित रहेको चर्चा छ। गुरुङले यसअघि एमालेको केन्द्रीय कार्यालय बनाइदिने घोषणा गरे पनि उक्त विषय हाल विवादित र कानुनी अड्चनमा छ। यद्यपि, भोजपुरको चुनावी मैदानमा भने यी दुई प्रभावशाली व्यवसायीको साथले आफूलाई सहज हुने विश्लेषण राई पक्षधर नेताहरूले गरेका छन्।
