मोरङ । मोरङको रंगेली नगरपालिकामा एक युवकले आफ्नै पत्नीको हत्या गरी आत्महत्या गरेका छन्। रंगेली–५ बहुवनका २१ वर्षीय मुकेश कुमार मण्डलले ससुराली घरमा पुगेर पत्नी अम्बिकाकुमारी मण्डलको हत्या गरेपछि आफूले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय रंगेलीका अनुसार मुकेश मंगलबार बेलुका रंगेली–५ धनपट्टीस्थित ससुराली घर पुगेका थिए। सोही क्रममा श्रीमान-श्रीमतीबीच सामान्य विवाद हुँदा घटनाले उग्र रूप लिएको थियो। आपसी विवादका क्रममा मुकेशले २१ वर्षीया अम्बिका कुमारी माथि चक्कु प्रहार गरेका थिए। चक्कु प्रहारबाट अम्बिकाको घटनास्थलमै मृत्यु भएको थियो। पत्नीको मृत्यु निश्चित भएपछि मुकेशले सोही चक्कुले आफ्नै घाँटी रेटेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
इलाका प्रहरी कार्यालय रंगेलीका डीएसपी लीलाराज लामिछानेका अनुसार घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो।
“प्रारम्भिक अनुसन्धान अनुसार घरेलु विवादका कारण मुकेशले पत्नीको हत्या गरी आफूले पनि ज्यान फालेको देखिएको छ। हामीले घटनास्थलको मुचुल्का उठाएर शवलाई कानुनी प्रक्रियाका लागि पठाएका छौँ,” डीएसपी लामिछानेले बताए।
प्रहरीले घटनाको वास्तविक कारण र अन्य पृष्ठभूमिबारे विस्तृत अनुसन्धान गरिरहेको छ। दुवैको उमेर २१ वर्ष मात्र रहेकाले यो घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ। थप विवरण पोष्टमार्टम रिपोर्ट र विस्तृत अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

