काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले तयारी तीव्र बनाएको छ। आयोगका अनुसार ‘पहिलो हुने निर्वाचित हुने’ अर्थात् प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ हालसम्म ३९ लाख ९८ हजार थान मतपत्र छपाइ सम्पन्न भएको छ।
निर्वाचन आयोगका अनुसार हालसम्म ३० जिल्लाका लागि आवश्यक पर्ने प्रत्यक्षतर्फका मतपत्रहरू छपाइ भइसकेका छन्। भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको काम चौबीसै घण्टा नियमित रूपमा भइरहेको आयोगले जनाएको छ।
आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीसँगै समानुपातिक प्रणाली र मतदाता शिक्षाका लागि आवश्यक सामग्रीको छपाइमा पनि उल्लेख्य प्रगति गरेको जनाएको छ। छपाइको विवरणअनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ २ करोड ८ लाख ३० हजार थान मतपत्र छपाइ सम्पन्न भइसकेको छ। मतदाता शिक्षाका लागि नमुना मतपत्र १० लाख ९८ हजार २०० थान छापिइसकेको छ र प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ३९ लाख ९८ हजार थान मतपत्र ३० जिल्लाका लागि तयार भएका छन्।
निर्वाचन आयोगले छपाइ सम्पन्न भएका जिल्लाहरूमा क्रमशः मतपत्र ढुवानी प्रक्रिया सुरु गरिने जनाएको छ। साथै मतदाताहरूलाई सही तरिकाले मतदान गर्न अभ्यस्त गराउने उद्देश्यले छापिएका नमुना मतपत्रहरू देशभरका निर्वाचन क्षेत्रहरूमा वितरण गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने आयोगले स्पष्ट पारेको छ।
