पोखरिया । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्सा क्षेत्र नम्बर ३ अन्तर्गत पोखरिया नगरपालिकामा नगर स्तरीय अगुवा कार्यकर्ता भेला भव्य रूपमा सम्पन्न भएको छ। आगामी निर्वाचनको तयारी र रणनीति तय गर्न आयोजित उक्त भेलामा सहभागी नेता तथा कार्यकर्ताहरूले क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार छोटेलाल प्रसाद यादवलाई अत्यधिक बहुमतले जिताउने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन्।
बिशिष्ट अतिथिको आसनबाट बोल्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवार छोटेलाल यादवले जनताको घरदैलोमा पुगेर उनीहरूका समस्या समाधान गर्न आफू सदैव तत्पर रहने र यसपटक क्षेत्र नम्बर ३ का मतदाताले आफूलाई ठूलो भरोसा गरेको दाबी गरे ।
पार्टीका नेता पान्नालाल पटेलको अध्यक्षतामा सम्पन्न भेलाका प्रमुख अतिथिको रूपमा नेकपाका केन्द्रीय सदस्य रामबाबु बैठा रहेका थिए । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि बैठाले क्षेत्रको विकास र समृद्धिका लागि पार्टीका उम्मेदवारलाई विजयी गराउनुको विकल्प नरहेको बताए ।
कार्यक्रममा अतिथिहरू लालबिहारी राम, शिव संकर यादव, सरिफ गद्दी, हरेन्द्र महतो, सोवालाल ठाकुर र लक्ष्मी नारायण ठाकुर लगायतका स्थानीय नेताहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले टोल(टोलमा पुगेर संगठन विस्तार गर्ने र चुनावी माहोललाई थप बलियो बनाउने निर्णय समेत गरेका छन्।
