वीरगन्ज । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत विधिपूर्वक समापन गरिँदैछ। पौष शुक्ल पूर्णिमादेखि सुरु गरिएको यस व्रतमा भक्तजनले नित्य पार्वतीसहित महादेवको पूजा गर्दै स्वस्थानी व्रतकथा वाचन–श्रवण गरेका थिए।
आज मध्याह्नकालपछि १०८ सामग्री अर्पण गरी भगवतीलाई अघ्र्य दिई व्रत समापन गरिन्छ। राति जाग्राम बसी देवीको माहात्म्य सुन्ने–सुनाउने तथा बिहान प्रसाद नदीमा सेलाएपछि व्रत विधिवत् समाप्त हुने धार्मिक परम्परा छ।
यसै दिन उपत्यकाको पूर्वी भेगस्थित शालिनदीमा एक महिना लामो माधवनारायण व्रत पनि अश्वमेध यज्ञसहित समापन हुँदैछ। आजको दिन नेवार समुदायले ‘सि पुन्हि’ पर्वका रूपमा मनाउने गर्दछन्।
