काठमाडौं। निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सातै प्रदेश र सबै जिल्लाका निर्वाचन क्षेत्र समेटिने गरी मतपत्रको नमूना सार्वजनिक गरेको छ। आयोगका अनुसार एउटै र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाका लागि फरक–फरक ढाँचाका मतपत्र तयार गरिएका छन्, जुन मतदाता शिक्षा कार्यक्रममा प्रयोग गरिनेछ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले उम्मेदवारको सङ्ख्याका आधारमा मतपत्रको आकार निर्धारण गरिएको जानकारी दिए। उनका अनुसार उम्मेदवार धेरै भएका क्षेत्रमा ठूला र कम उम्मेदवार भएका क्षेत्रमा साना मतपत्र छापिएका छन्।
कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लासहित सबै निर्वाचन क्षेत्रका मतपत्रको नमूना सार्वजनिक गरिएको आयोगले जनाएको छ।

