काठमाडौँ । प्रजातन्त्र स्थापना र नागरिक स्वतन्त्रताका लागि जीवन आहुति दिने अमर शहीदहरूको सम्मानमा आज देशभर शहीद दिवस मनाइँदैछ । माघ १० गतेदेखि सुरु भएको शहीद सप्ताहको अन्तिम दिन आज श्रद्धाञ्जली सभा, माल्यार्पण र स्मरण कार्यक्रम आयोजना गरिएका छन् ।
राणा शासनविरुद्ध संघर्ष गर्दा १९९७ सालमा मृत्युदण्ड पाएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको बलिदानलाई विशेष रूपमा स्मरण गरिएको छ । उनीहरूसँगै आन्दोलनमा संलग्न टङ्कप्रसाद आचार्य र रामहरि शर्माले आजीवन काराबासको सजाय भोगेका थिए ।
काठमाडौँ महानगरपालिकासहित विभिन्न निकायले आज विशेष कार्यक्रम आयोजना गरेका छन् । शहीदहरूले देखाएको लोकतान्त्रिक मार्गमा अघि बढ्नु नै उनीहरूप्रति सच्चा श्रद्धाञ्जली हुने विश्वास गरिएको छ ।
