काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ सबैभन्दा बढी उमेदवारी काठमाडौं जिल्लामा परेको छ। १० निर्वाचन क्षेत्र रहेको काठमाडौंमा राजनीतिक दल र स्वतन्त्र गरी २५० जनाले उमेदवारी दिएका छन्।
निर्वाचन आयोगका अनुसार देशभरका १६५ निर्वाचन क्षेत्रमा कुल ३ हजार ४०६ जनाको उमेदवारी परेको छ। उमेदवारमध्ये ३ हजार १७ जना पुरुष, ३८८ जना महिला र १ जना अन्य रहेका छन्। औसतमा प्रत्येक निर्वाचन क्षेत्रमा २०.६४ जनाको उमेदवारी परेको आयोगले जनाएको छ।
उमेदवारी संख्याका आधारमा शीर्ष जिल्लामा काठमाडौंसँगै धनुषा, रौतहट, महोत्तरी, सिराहा, सर्लाही, सुनसरी, मोरङ र बारा रहेका छन्। सबैभन्दा कम उमेदवारी मनाङ जिल्लामा परेको छ, जहाँ मात्र ३ जनाले उमेदवारी दर्ता गरेका छन्।
सबैभन्दा कम उमेदवारी पर्ने १० जिल्लामा मनाङ, हुम्ला, मुगु, बझाङ, बाजुरा, मुस्ताङ, डोल्पा, डोटी, कालिकोट र जुम्ला रहेका छन्, जुन सबै हिमाली तथा उच्च पहाडी जिल्ला हुन्।
प्रतिनिधिसभा निर्वाचनमा १२ जिल्लामा एक सयभन्दा बढी उमेदवारी परेको आयोगको तथ्याङ्कले देखाएको छ।
