काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा भर्ना भएका छन्। चुनावी दौडधुपका क्रममा खुट्टामा लागेको चोट बल्झिएपछि उनलाई मंगलबार अस्पताल भर्ना गरिएको हो।
गत माघ ५ गते जनकपुरमा आयोजित पार्टीको कार्यक्रममा स्टेजबाट ओर्लिने क्रममा लामिछानेको देब्रे खुट्टामा चोट लागेको थियो। सुरुमा सामान्य ठानेर औषधि खाएका लामिछाने आफ्नो निर्वाचन क्षेत्र चितवनको चुनावी अभियानमा व्यस्त रहेका थिए। कामको चापका कारण नियमित औषधि सेवन नगर्दा घाउ सुन्निने र रातो हुने समस्या देखिएको थियो।
अस्पतालका सूचना अधिकारी डा. गोपाल सेढाईंका अनुसार लामिछानेलाई ‘सेलुलाइटिस’ (छालामुनिको संक्रमण) भएको पुष्टि भएको छ।
“खुट्टाको घाउ गम्भीर देखिएपछि गरिएको अल्ट्रासाउन्ड र कल्चर परीक्षणबाट सेलुलाइटिस भएको पत्ता लागेको हो। अहिले उहाँलाई नसामार्फत तीन प्रकारका एन्टिबायोटिक औषधि दिइँदैछ,” डा. सेढाईंले जानकारी दिए।
लामिछाने अहिले अस्पतालको क्याबिनमा उपचाररत छन् र उनको अवस्था स्थिर (Stable) छ। घाउको रङ परिवर्तन हुँदै गएमा र संक्रमण कम भएमा आगामी तीन दिनभित्र उनलाई डिस्चार्ज गर्न सकिने अस्पतालले जनाएको छ। त्यसपछि केही समय उनले घरमै बसेर औषधि सेवन गर्नुपर्नेछ।
