सर्लाही । सर्लाहीको मलङ्गवा नगरपालिकामा दादुरा रोगको संक्रमण फैलिएको छ। नगरपालिकाको वडा नं. ३ मा एकैसाथ ७ जनामा संक्रमण पुष्टि भएपछि स्वास्थ्य अधिकारीहरूले सतर्कता बढाएका छन्।
स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवलकिशोर झाका अनुसार, संक्रमणको आशंका गरिएका अन्य २२ जनालाई उनीहरूकै घरमा स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ। दादुरा अत्यन्तै संक्रामक रोग भएकोले यो तीव्र गतिमा फैलिन सक्ने जोखिम बढेको छ।
संक्रमणलाई थप फैलिन नदिन र बालबालिकालाई सुरक्षित राख्न मलङ्गवा नगरपालिकाले विशेष खोप अभियान यही माघ १२ गतेदेखि १६ गतेसम्म सन्चालन गर्ने भएकाे छ। मलङ्गवा नगरपालिका प्रभावित वडाहरू २, ३, ४, ८, ९ र १० का ६ महिनादेखि १४ वर्ष उमेर समूहका बालबालिकालाई दादुराविरुद्धको खोप प्रदान गरिने मलङ्गवा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
नगरपालिकाको स्वास्थ्य शाखाले आफ्ना बालबालिकालाई नजिकैको खोप केन्द्रमा लगी अनिवार्य रूपमा खोप लगाउन अनुरोध गरेको छ। “समयमै खोप लगाउनु नै दादुराबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय हो,” स्वास्थ्य शाखाले जारी गरेको सूचनामा उल्लेख छ।
दादुरा लाग्दा उच्च ज्वरो आउने, शरीरमा राता बिमिरा देखिने, नाकबाट पानी बग्ने र खोकी लाग्ने जस्ता लक्षण देखिन्छन्। यस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न समेत आग्रह गरिएको छ।
