जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब देशमा कोही पनि मधेसवादी वा हिमालवादी नरहेको भन्दै सबै ‘नेपालवादी’ भएको उद्घोष गरेका छन्। चुनावी अभियानका क्रममा काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन) सँगै जनकपुर पुगेका लामिछानेले मधेसको न्यायका लागि आफ्नो पार्टीले लड्ने प्रतिबद्धता जनाए।
विगतका सरकारहरूले मधेसमाथि गरेको अन्यायको तुलनामा आफूमाथि लगाइएका मुद्दाहरू निकै साना रहेको लामिछानेले बताए। उनले ‘जेनजी’ (Gen Z) आन्दोलन र मधेस विद्रोहमा भएको दमनको हिसाब रास्वपाले गर्ने दाबी गरे।
आफूलाई षडयन्त्रपूर्वक संसद्बाट निकालिएको गुनासो गर्दै उनले आगामी निर्वाचनमा रास्वपालाई सबैभन्दा ठुलो दल बनाएर संसद् छिर्ने उद्घोष गरे।
मेयर बालेन शाहसँगको भेटघाट फलदायी रहेको संकेत गर्दै उनले पाँच मिनेटको वार्तामै कुरा मिलेको र त्यसपछि देशमा नयाँ राजनीतिक आशाको ‘उज्यालो घाम लागेको’ टिप्पणी गरे।
लामिछानेले मधेसका जनतालाई अब क्षेत्रीय राजनीतिभन्दा माथि उठेर देश बनाउने अभियानमा जोडिन आग्रह समेत गरेका छन्।
