वीरगन्ज । वीरगन्ज भन्सार कार्यालयमा वैदेशिक व्यापारलाई थप व्यवस्थित र पारदर्शी बनाउन ‘भन्सार जाँचपास परीक्षण इकाई’ स्थापना गरिएको छ।
राजस्व सचिव भूपाल बरालले शुक्रबार एक विशेष समारोहका बीच यस कार्यालयको उद्घाटन गरे । यो इकाईको मुख्य उद्देश्य भन्सारबाट जाँचपास भई बाहिरिएका मालसामानको वर्गीकरण, मूल्याङ्कन र प्रमाणीकरण सही भए/नभएको पुनः परीक्षण गर्नु हो।
सरकारले लागू गरेको अनलाइन भन्सार मूल्याङ्कन डाटाबेस प्रणालीमा आउने समस्या तत्काल समाधान गर्न र भन्सार प्रशासनमा हुने जोखिम न्यूनीकरणका लागि यो संरचना ल्याइएको हो।
उद्घाटन कार्यक्रममा राजस्व सचिव बरालले भन्सार कर्मचारी, आयातकर्ता र एजेन्ट तीनवटै पक्ष इमानदार भए मात्र प्रणाली सफल हुने र राजस्व संकलनको लक्ष्य पूरा हुने बताए ।
यस्तै भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारीले व्यवसायीहरूको पुरानै माग अनुसार यो इकाई स्थापना गरिएको जानकारी दिँदै यसले ‘सेफ गार्ड’ को रूपमा काम गर्ने र वैध व्यापार गर्नेहरू डराउनु नपर्ने प्रष्ट पारे ।
विशेष गरी आयोजनाका नाममा आउने छुटका सामान र जटिल किसिमका मालवस्तुको द्रुत जाँचपासका लागि यो इकाई सहयोगी हुने अपेक्षा गरिएको छ।
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले नयाँ प्रणालीको स्वागत गर्दै यसले व्यापारिक लागत र समय घटाउने विश्वास व्यक्त गरे ।
वीरगन्जमा स्थापना भएको यो इकाई नेपालको तेस्रो भन्सार जाँचपास परीक्षण इकाई हो। यस कार्यालयमा उपसचिवको नेतृत्वमा अधिकृत र नायव सुब्बा सहितको दरबन्दी रहने व्यवस्था गरिएको छ।
