बारा । जिल्ला प्रहरी कार्यालय बारा र मातहतका प्रहरी इकाइहरूले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएका तथा फरार रहेका तीन जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ।
खोजतलासका क्रममा लुकिछिपी बसिरहेको अवस्थामा उनीहरूलाई सोमबार नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा बैंकिङ कसुर मुद्दाका प्रतिवादी ४० वर्षीय श्री तामाङ रहेका छन्। सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–२ घर भई हाल ललितपुरको इमाडोल बस्ने तामाङलाई इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको टोलीले पक्राउ गरेको हो।
तामाङलाई अदालतले एक करोड रुपैयाँ बिगो र सोही बमोजिमको जरिवाना सजाय सुनाएको थियो।
त्यसैगरी लागू औषध मुद्दामा फरार रहेका जितपुर सिमरा उपमहानगरपालिका–१६ का २७ वर्षीय उमेश भोलन पनि पक्राउ परेका छन्।
त्यस्तै लेनदेन बिगो मुद्दामा बारागढी गाउँपालिका–६ की ६५ वर्षीया हलिया थरुनीलाई इलाका प्रहरी कार्यालय बारागढीको टोलीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका सबैलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित जिल्ला अदालतमा बुझाउने तयारी भइरहेको जानकारी प्रहरीले दिएको छ।
