वीरगन्ज । वीरगन्ज । मधेश प्रदेशको आर्थिक गतिविधिमा सुधारको संकेत देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयको पछिल्लो विवरण अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादन (GDP) उपभोक्ताको मूल्यमा करिब ८ खर्ब ४ अर्ब रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान गरिएको छ।
गत आर्थिक वर्ष २०८०/८१ मा यो आकार ७ खर्ब ५३ अर्ब रुपैयाँ रहने संशोधित अनुमान थियो। समग्र राष्ट्रिय अर्थतन्त्रमा मधेश प्रदेशको योगदान स्थिर देखिएको छ । केन्द्रीय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्ष जस्तै यस वर्ष पनि मुलुकको कुल गार्हस्थ्य उत्पादनमा मधेश प्रदेशले १३.१६ प्रतिशत हिस्सा ओगट्ने देखिएको छ ।
स्थिर मूल्यका आधारमा यस प्रदेशको आर्थिक वृद्धिदर ४.५० प्रतिशत पुग्ने अनुमान गरिएको छ, जुन गत वर्षको ३.७४ प्रतिशतको तुलनामा सकारात्मक वृद्धि हो। मधेश प्रदेशको अर्थतन्त्रमा अझै पनि कृषि क्षेत्रकै वर्चस्व कायम छ।
चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा कृषि, वन तथा मत्स्यपालन क्षेत्रले सबैभन्दा धेरै ३६.७३ प्रतिशत योगदान पुर्याउने देखिएको छ। गत वर्ष पनि यस क्षेत्रको योगदान ३५.९२ प्रतिशत सहित अग्रस्थानमा थियो।
तुलनात्मक रूपमा खानी तथा उत्खनन् क्षेत्रको योगदान भने सबैभन्दा न्यून ०.१५ प्रतिशत मात्रै रहने प्रक्षेपण गरिएको छ। क्षेत्रगत वृद्धिदरका हिसाबले चालु आर्थिक वर्षमा विद्युत तथा ग्याँस क्षेत्रले उत्साहजनक प्रगति गर्ने देखिएको छ।
यस क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर ९.८३ प्रतिशत पुग्ने अनुमान छ भने शिक्षा क्षेत्रको वृद्धिदर सबैभन्दा कम १.४४ प्रतिशतमा सीमित हुने देखिएको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने आवास तथा भोजन सेवा क्षेत्रले २१.१४ प्रतिशतको उच्च वृद्धि हासिल गरेको थियो भने निर्माण क्षेत्र २.३३ प्रतिशतको न्यून वृद्धिमा खुम्चिएको थियो।
यस प्रदेशको आर्थिक संरचनामा कृषि क्षेत्रको बलियो उपस्थिति रहे पनि ऊर्जा र सेवा क्षेत्रमा देखिन थालेको गतिले आगामी दिनमा प्रदेशको समग्र समृद्धिमा थप बल पुग्ने अपेक्षा गरिएको छ।