पर्सा । सशस्त्र प्रहरी बल नेपालले आफ्नो २५औँ स्थापना दिवसको अवसरमा सीमावासीलाई लक्षित गरी आयोजना गरेको निस्शुल्क आँखा शिविरबाट १७२ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन्।
जिल्लाको छिपहरमाई गाउँपालिका–२ भेडीहर्वास्थित श्री रामाज्ञा साह प्राथमिक विद्यालयको प्राङ्गणमा शुक्रबार सो शिविर सञ्चालन गरिएको हो। ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले यो स्वास्थ्य शिविरको आयोजना गरेको हो।
तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँ, वीरगञ्ज सामुदायिक आँखा हस्पिटल र लक्ष्मी सनराइज बैंक वीरगञ्जको प्राविधिक तथा सामाजिक सहकार्यमा आयोजित शिविरमा ९१ महिला र ८१ पुरुषले आँखाको परीक्षण गराएका छन्।
नम्बर १३ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सीमा सुरक्षा गुल्म लहावरथकरीका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक लोकनाथ उप्रेती, छिपहरमाई गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष कामेश्वर प्रसाद यादव र वडा नम्बर २ का वडा अध्यक्ष महेन्द्र साह कलवारले शिविरको सफल सञ्चालनमा सहयोग पुर्याएका थिए।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाका अनुसार सीमा क्षेत्रका सर्वसाधारणलाई सहज स्वास्थ्य पहुँच पुर्याउने र सशस्त्र प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले यो विशेष कार्यक्रम आयोजना गरिएको हो।
स्थापना दिवसको उपलक्ष्यमा गरिएको यस सेवामूलक कार्यको स्थानीय समुदायले उच्च प्रशंसा गरेका छन्।

