वीरगन्ज। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साको आयोजनामा वीरगन्जमा विभिन्न सामाजिक कार्यक्रम सम्पन्न भएको छ । बिहीबार नै सशस्त्र प्रहरीले एकदिने निस्शुल्क आँखा शिविर सम्पन्न गर्नुका साथै कारागारका कैदीबन्दीहरुलाई पनि न्यानो कपडा वितरण गरेको छ ।
वीरगन्ज महानगरपालिका–१ छप्कैयास्थित श्री बबिता पराजुली आधारभूत विद्यालयको प्राङ्गणमा आयोजित शिविर तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँ, वीरगन्ज सामुदायिक आँखा अस्पताल र लक्ष्मी सनराइज बैंक वीरगन्जको प्राविधिक तथा अन्य सहकार्यमा सम्पन्न भएको आँखा शिविरमा ७८ जनाको आँखा परीक्षण गरिएको सशस्त्र प्रहरी नम्बर १३ गण हेडक्वाटर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक विश्वराज योञ्जनले जानकारी दिए ।
सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सीमा सुरक्षा गुल्म वीरगन्जका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक पुरुषोत्तम भण्डारी, वीरगन्ज सामुदायिक आँखा अस्पतालका सञ्चालक महेश सिंह धामी र लक्ष्मी सनराइज बैंकका शाखा प्रबन्धक रोहिणी आचार्य लगायतको उपस्थिति रहेको थियो ।
‘२५औँ सशस्त्र प्रहरी दिवस २०८२’ को अवसर पारेर ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम अन्तर्गत स्थानीय बासिन्दाहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै उक्त शिविर सञ्चालन गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले जानकारी दिए ।
यस्तै लायन्स क्लब वीरगन्जको आयोजना तथा सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हेडक्वार्टर पर्साको सहकार्यमा वीरगन्ज कारागारका महिला कैदीबन्दीहरूलाई जाडोको कपडा वितरण गरिएको छ ।

वीरगन्ज महानगरपालिका–५ स्थित कारागार कार्यालयमा आयोजित एक कार्यक्रमका बीच ६२ जना महिला कैदीबन्दीहरूलाई सल र त्यहाँ रहेका ५ जना बालबालिकाहरूलाई न्यानो कपडा वितरण गरिएको हो ।
कार्यक्रममा लायन्स क्लब वीरगन्जका अध्यक्ष सुरेश कुमार रुङ्गटा, सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्ट, कारागार प्रशासक बाबुलाल रेग्मी, कारागार सुरक्षा बेस वीरगन्जका बेसपति सशस्त्र प्रहरी नायव उपरीक्षक विष्णुहरी घिमिरे र कारागार सुरक्षा गार्डका प्रहरी नायव निरीक्षक डम्बर बहादुर श्रेष्ठको उपस्थिति रहेको थियो ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक विश्वराज योन्जनका अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता मानवीय सहयोगका कार्यक्रमहरूलाई निरन्तरता दिइएको हो ।

